• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डाक्नेश्वरीमा चारदलको  धर्ना तेश्रोदिन पनि जारी

डाक्नेश्वरीमा चारदलको  धर्ना तेश्रोदिन पनि जारी
न्यूज टुडे
राजविराज, ११ असार । 
सप्तरीको डाकनेश्वरी नगरपालिकाका प्रमुख चारदलीय संयुक्त संघर्षसमितिको धर्ना कार्यक्रम तेश्रो दिन समेत जारी रहेका छन् । जनप्रतिनिधिहरुले नगरपालिकालाई  भ्रष्टाचारको अखडा बनाएको आरोप लगाउंँदै प्रमुख चारदलद्वारा सुरु गरेको धर्ना कार्यक्रम मंगलबार  पनि जारी राखेका हुन् । 
नगरप्रमुख रामलखन मलहासहित जनप्रतिनिधिको बेथिति विरुद्ध विभिन्न १४ सुत्रीय  माग राखी संघर्षसमिति आवद्ध राजनीतिक दलका प्रतिनिधिहरु नगरपालिका अगाडि धर्ना बसेको हो । 
नेपाली काँग्रेस, जसपा नेपाल, लोसपा र माओवादी केन्द्र आवद्ध संयुक्त संघर्ष समितिको पुर्व घोषित विरोधका कार्यक्रम अन्तर्गत धर्नालाई निरन्तरता दिएका छन् । 
जनप्रतिनिधि विरुद्ध संघर्षरत चार दलका प्रतिनिधिहरुले नगरप्रमुख मलहा भ्रष्टचारीको संरक्षक रहेको आरोप लगाएका छन् । नग्रप्रमुख मलहाले एजेण्ट राखेर विभिन्न योजना तथा कार्यक्रमबाट अबैध रुपमा मटो रकम असुल्ने गरेको  उनीहरुको दावी छ । 
पुर्वघोषित कार्यक्रम अन्तर्गत बुधबारसम्म धर्ना कार्यक्रम जारी राख्ने तथा बिहीवारदेखि नगरपालिका अन्तर्गतका सम्पुर्ण विद्यालय तथा १० वटै वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दीसहितको सशक्त आन्दोलनमा उत्रिने जसपाका स्थानीय नेता राजेश्वर प्रसाद रायले बताए ।   
चारदलिय संघर्ष समितिले “नगर शिक्षा ऎन संशोधन हुनुपर्ने, राजनीतिक प्रतिशोधको आधारमा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, आर्थिक बर्ष २०७९/०८०को कोभिड १९ मा खर्च गरिएको आयव्यय उपलब्ध गर्नुपर्ने, सर्पदंश अस्पतालको लागि खरिद गरिएको उपकरणहरुमा भएको अनियमितता छानबिन गरी अविलम्ब संचालन गर्नुपर्ने, दरबन्दी मिलान बेगारको गरिएको शिक्षक सरुवाको निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई अविलम्ब सरुवा गर्नुपर्ने” माग राखेका छन् ।
यसैगरी पुराना कार्यरत कर्मचारीलाई राजनैतिक पुर्वाग्रही तरिकाले हटाइएकोमा पुनर्वहाली गर्नुपर्ने, सर्वदलीय बैठकद्वारा टोल, बस्ती समिती अविलम्ब गठन गरी संचालन गर्नुपर्ने, कर्मचारी उमेश साहलाई दरबन्दी भएको ठाउँ बनौला स्वास्थ्य चौकीमा अविलम्ब पठाउनुपर्ने, आव २०८९/०८० चालू आव २०८०/०८१ को हालसम्मको औषधी तथा सेनेटरीप्याडको खर्च विवरण अविलम्ब उपलब्ध गराउनुपर्ने उनीहरुले माग राखेका छन्  । 
यस्तै आव २०७९/०८० स्वास्थ्य, कृषि तथा पशुस्वास्थ्यमा गरिएको सम्पुर्ण विवरण उपलब्ध गराउनुपर्ने, सामाजिक सुरक्षा भत्ता त्रैमाशिक रुपमा उपलब्ध ग्गर्नुपर्ने, आव २०७९/०८० देखि हालसम्मको इन्धनमा भएको खर्च विवरण उपलब्ध गराउनुपर्ने, सम्पुर्ण खर्च विवरणमा महालेखा परिक्षक प्रतिबेदनले औल्याएको समस्यालाई अविलम्ब कार्यान्वयन गर्नुपर्ने, आव २०८०/०८१ मा शिक्षा शाखाबाट भएको खर्च विवरण उपलब्ध गर्न चार राजनीतिक दलले माग राखेको छ । 
धर्नामा जसपा नेपालका जिल्ला कार्यकारिणी सदस्य राजेश्वर प्रसाद राय, नेपाली काँग्रेस सभापति तथा मेयरका प्रत्यासी नारायण यादव, जसपा नगर अध्यक्ष लक्षणदेव यादव, नगर उपाध्यक्ष ओमप्रकाश यादव, सचिब उमेश यादव, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज भुलाई राम, लोसपा नगर अध्यक्ष रामसागर मण्डल,भगवती प्रसाद यादव, जोगिन्द्र मण्डल, धर्मदेव यादवलगायतका स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघर्ष समितिका पदाधिकारीहरुले सहभागिता जनाएका छन् ।
यस अघि सोही माग नगरप्रमुख मलहालाई संघर्ष समितिले ७ दिनभित्र  माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिंदै ज्ञापनपत्र बुझाएको थियो ।