• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डाक्नेश्वरीका चार दल आन्दोलित, नगरपालिका अगाडि धर्ना 

डाक्नेश्वरीका चार दल आन्दोलित, नगरपालिका अगाडि धर्ना 
न्यूज टुडे
राजविराज, १० असार । 
सप्तरीको डाकनेश्वरी नगरपालिकाका चारदलीय संयुक्त संघर्षसमितिले नगरपालिका अगाडि धर्ना दिएका छन् । नगरपालिकालाई  भ्रष्टाचारको अखडा बनाएको आरोप लगाउंँदै नगरप्रमुख रामलखन मलहासहित जनप्रतिनिधिको बेथिति विरुद्ध विभिन्न १४ सुत्रीय  माग राखी संघर्षसमिति आवद्ध राजनीतिक दलका प्रतिनिधिहरु नगरपालिका अगाडि धर्ना बसेका हुन् । 
नेपाली काँग्रेस, जसपा नेपाल, लोसपा र माओवादी केन्द्र आवद्ध संयुक्त संघर्ष समितिको पुर्व घोषित विरोधका कार्यक्रम अन्तर्गत सोमबार समेत धर्नालाई निरन्तरता दिएका हुन् । 
जनप्रतिनिधि विरुद्ध संघर्षरत चार दलका प्रतिनिधिहरुले नगरप्रमुख मलहा भ्रष्टचारीको संरक्षक रहेको आरोप लगाएका छन् । नग्रप्रमुख मलहाले एजेण्ट राखेर विभिन्न योजना तथा कार्यक्रमबाट अबैध रुपमा मटो रकम लिने गरेको  उनीहरुको दावी छ । 
नेपाली काँग्रेसका नगर सभापति तथा मेयर पदका प्रत्यासी उम्मेदवार नारायण यादवले मेयर मलहाले नगरपालिकालाई एमाले कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाए । 
अनियमितता गर्नकै लागी मेयर मलाहले आफ्ना आसेपासेलाई करार कर्मचारी नियुक्ति गरेको आरोप लगाउंँदै उनले नगरपालिकाको ८० प्रतिशत उपभोक्ता समिति बनाएर मेयर आफै भुक्तानीका लागि विभिन्न शाखामा गएर दवाव दिने गरेको बताए ।   
मेयर मलाहको कारण नगरपालिकामा भ्रष्टाचारको अखाडा बन्दै गएको बताउंँदै उनले भ्रष्टाचारको शृङ्खला नरोकिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
जसपा नेपालकाका नगर अध्यक्ष लक्षणदेव साहले  शिक्षा संयोजक कृष्ण कुमार यादव र प्रशासन प्रमुख उमेश साह मार्फत मेयर मलहाले विभिन्न योजना तथा कार्यक्रमको कमिसन असुल्ने गरेको आरोप लगाए । 
उनले नगरप्रमुखको मिलोमतोमा विभिन्न योजना तथा कार्यक्रमहरुको फर्जी विलभर्पाई तथा कगज मिलान गरी करोडौं भ्रष्टाचार गरेको दावी गरे  । 
जसपा नेपाल डानेश्वरी नगरपालिकाका मेयरका प्रत्यासी बेचु साहले करार कर्मचारी नियुक्तिमा मेयर मलहाले करोडौ भ्रष्टाचार गरेको बताए । नगर प्रहरीसहित ४० जना कर्मचारी नियुक्त गर्दा नगरप्रमुख मलहाले प्रतिव्यक्ति ३ देखि ५ लाख सम्म कमिसन लिएको आरोप लगाउंँदै उनले मेयर मलहाले गरेको आर्थिक अनियमितताको छानबिन गर्न माग गरे । 
पुर्वाधार विकास,विद्यालयको खाजा कार्यक्रम, सेनेटरी प्याड खरिदलगायतका विभिन्न शिर्षकमा भएको भ्रष्टाचारको प्रमाणसहित अख्तियरमा उजुरी दर्ता गर्दा समेत अख्तियार समेत मौन बसेको उनले बताए । 
नगरपालिकामा भएको भ्रष्टाचार र वेतिथि रोक्न नगरप्रमुख मलहाको पटकपटक ध्यानाकर्षण गराउंँदा समेत सुनुवाइ नभएको संघर्ष समितिका सदस्य नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज एवम् दलित मोर्चाका केन्द्रिय सदस्य भुलाई रामले बताए । 
संघर्ष समितिको तर्फबाट ज्ञापनपत्र बुझाउंँदा माग पूरा गर्ने पक्षमा नगर प्रमुख नहुंँदा धैरैपटक बार्ताको समय तोकेर वेवास्ता गरेकोले आन्दोलनमा उत्रिनु बाध्य भएको उनले बताए  ।माग सम्बोधन नभएसम्म संघर्षका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । उनले शान्तिपूर्ण आन्दोलनका कार्यक्रमबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
चार राजनीतिक दल आवद्ध संयुक्त संघर्ष समितिले शुक्रबार नगरपालिका अगाडि पत्रकार सम्मेलन मार्फत विभिन्न १४ सुत्रीय माग राखी मशाल जुलुस प्रदर्शन तथा धर्नासहितको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए । 
संघर्ष समितिद्वारा शनिबार ५ बजे साँझ मसाल जूलूस प्रदर्शन गरेका थिए भने आइतबार १२ बजेदेखि १ बजेसम्म नगरपालिका अगाडि धर्ना दिएका छन् ।
पुर्व घोषित कार्यक्रम अनुसार सोमबारसमेत धर्नालाई निरन्तरता दिएको बताउंँदै लोसपा नगर अध्यक्ष रामसागर मण्डलले  लगातार ४ दिनसम्म नगरपालिका अगाडि १ घण्टा धर्ना दिने कार्यक्रम जारी रहने बताए । 
चारदलिय संघर्ष समितिले “नगर शिक्षा ऎन संशोधन हुनुपर्ने, राजनीतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, आर्थिक बर्ष २०७९/०८०को कोभिड १९ मा खर्च गरिएको आयव्यय उपलब्ध गर्नुपर्ने, सर्पदंश अस्पतालको लागि खरिद गरिएको उपकरणहरुमा भएको अनियमितता छानबिन गरी अविलम्ब संचालन गर्नुपर्ने, दरबन्दी मिलान बेगारको गरिएको शिक्षक सरुवाको निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई अविलम्ब सरुवा गर्नुपर्ने” माग राखेका छन् ।
यसैगरी पुराना कार्यरत कर्मचारीलाई राजनैतिक पुर्वाग्रही तरिकाले हटाइएकोमा पुनर्वहाली गर्नुपर्ने, सर्वदलीय बैठकद्वारा टोल, बस्ती समिती अविलम्ब गठन गरी संचालन गर्नुपर्ने, कर्मचारी उमेश साहलाई दरबन्दी भएको ठाउँ बनौला स्वास्थ्य चौकीमा अविलम्ब पठाउनुपर्ने, आव २०८९/०८० चालू आव २०८०/०८१ को हालसम्मको औषधी तथा सेनेटरीप्याडको खर्च विवरण अविलम्ब उपलब्ध गराउनुपर्ने उनीहरुले माग राखेका छन्  । 
यस्तै आव २०७९/०८० स्वास्थ्य, कृषि तथा पशुस्वास्थ्यमा गरिएको सम्पुर्ण विवरण उपलब्ध गराउनुपर्ने, सामाजिक सुरक्षा भत्ता त्रैमाशिक रुपमा उपलब्ध ग्गर्नुपर्ने, आव २०७९/०८० देखि हालसम्मको इन्धनमा भएको खर्च विवरण उपलब्ध गराउनुपर्ने, सम्पुर्ण खर्च विवरणमा महालेखा परिक्षक प्रतिबेदनले औल्याएको समस्यालाई अविलम्ब कार्यान्वयन गर्नुपर्ने, आव २०८०/०८१ मा शिक्षा शाखाबाट भएको खर्च विवरण उपलब्ध गर्न चार राजनीतिक दलले माग राखेको छ । 
धर्नामा जसपा नेपालका जिल्ला कार्यकारिणी सदस्य राजेश्वर प्रसाद राय, नगर उपाध्यक्ष ओमप्रकाश यादव, विजली प्रसाद, उमेश यादव,भगवती प्रसाद यादव, जोगिन्द्र मण्डल, धर्मदेव यादवलगायतका स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघर्ष समितिका पदाधिकारीहरुले सहभागिता जनाएका छन् ।
यस अघि सोही माग राखी जिल्ला समन्वय समिति सप्तरी र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिएर नगरप्रमुख मलहालाई संघर्ष समितिले ७ दिनभित्र  माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी   दिंदै ज्ञापनपत्र बुझाएको थियो ।