नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेलाई निर्णायक शक्ति नबनाएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।राष्ट्रिय युवा संघ नेपालको आठौं सप्तरी जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै बस्नेतले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
अधिबेशनलाई सम्बोधन गर्दै एमाले नेता महेश बस्नेत । फोटो : न्यूज टुडे
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको जिकिर गरे । ‘समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना पुरा गर्न र असमानतायुक्त अवस्था अन्त गरी परिपू्र्ण लोकतन्त्रको स्थापना गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताए ।
सबै पुराना दल एउटै हुन् भनेर गणतन्त्र विरोधी शक्तिले एमालेविरुद्ध समेत गलत मान्यता स्थापित गर्ने प्रयत्न गरिरहेको बताउँदै बस्नेतले देश विकासको नेतृत्व एमालेबाट मात्र सम्भव रहेको कुरा सरकारमा भएको बेला एमालेले गरेको विकास निर्माणका कामले प्रमाणित गरेको बताए ।
तराई मधेस बहुप्रतिक्षित हुलाकी सडक, मदनभण्डारी लोकमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, भित्री मधेशलाई जोडने पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति, जनता आवास कार्यक्रम, रेलमार्ग, सुरुङ मार्ग, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राष्ट्रिय गौरवका आयोजनाहरु एमाले नेतृत्वको सरकारले ल्याएको बस्नेतले दाबी गरे ।
प्राविधिक विधालय, ओधोगिक करिडोर, सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना, तराई मधेसका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन, विद्यालयहरुमा सेनेटरी प्याड, दिवा खाजा, नगर केन्द्रीत अस्पताल, स्वास्थ्य बिमा, मृगौला, क्यान्सर जस्ता रोगीलाई एक लाख रुपियाँसम्मको सुविधा दिने, हावाहुरीले उडाएको २ हजार बढी घर ३ महिनामा बनाउने, ५८ हजार भन्दा बढी सुकुम्वासीलाई लालपुर्जा दिने, तराई मधेसका जिल्लाहरुले बर्सेनी कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरीे समाधान खोज्ने एमाले नै भएको बस्नेतले बताए ।
“एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भएको छ ।” एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडकलगायतका विकास निर्माणमा गरेको काम सबैलाई थाहै छ’, बस्नेतले भने ।
अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न युवा शक्ति जागरुक हुन जरुरी रहेको भन्दै बस्नेतले जनताको सामाजिक काममा भिज्न युवाहरुलाई आग्रह गरे ।
एमालेका अर्का पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले एमालेले एक दशक नेतृत्व गर्न पाए मुलुकको कायापलट गर्ने दाबी गरे । एमाले ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बर्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको बताए ।
दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मात्र मुलुक समृद्ध हुने भन्दै प्याकुरेलले एमालेसँग मात्र तराई मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न नदी डाइभर्सन प्रणाली सञ्चालन तथा विभिन्न सिचाइ आयोजनाहरू सम्पन्न गर्ने योजना रहेको बताए । ग्रामीण क्षेत्रमा क्रान्तिकारी परिवर्तन र किसानलाई सम्पन्न बनाउन कृषिको आधुनिकीकरण तथा औद्योगीकरण कार्यक्रम एमालेले लागू गर्न खोजेको प्याकुरेलले बताए ।
राष्ट्रिय युवा संघका अध्यक्ष तिक्षेन थेवेले अराजकतावादी शक्ति एमालेको विरुद्ध नियोजित ढंगले लागेको भन्दै युवा पङ्तीलाई सचेत हुन आग्रह गरे । देशमा राजनीति स्थिरता कायम हुन नदिने, अराजकता मच्चाउने, विकास विरोधी तत्व बेलाबेलामा सक्रिय हुने गरेको भन्दै थेबेले साम्राज्यवादीको आडमा लोकप्रिय बन्न खोज्नेको मुखुण्डो खोल्न र तह लगाउन युवाहरु सक्षम रहेको बताए ।
राष्ट्रिय युवा संघ सप्तरीका अध्यक्ष चितरञ्जन यादवको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरु संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरी केसी, महासचिव सुमन पुरी र पूर्व उपाध्यक्ष सीता सुबेदीलगायतले संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्न एमालेको नेतृत्व आवश्यक रहेको बताए ।
कार्यक्रममा रबिन्दकुमार दासको नेतृत्वमा जसपा नेपाल र दिपक भनिने अरुणकुमार श्रेष्ठको नेतृत्वमा नेपाली कांग्रेसका दर्जनौ युवा राष्ट्रिय युवा संघमा प्रवेश गरे ।