न्यूज टुडे
राजविराज, ७ असार ।
सप्तरीको डाकनेश्वरी नगरपालिकामा गठित चारदलीय संयुक्त संघर्षसमितिले नगरप्रमुख रामलखन मलहाले नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको आरोप लगाएका छन् । डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधिको भ्रष्टाचार तथा बेथिति विरुद्ध गठित संघर्षसमितिद्वारा नगरपालिका अगाडि शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख मलहामाथि यस्तो आरोप लगाएको हो ।

नेपाली काँग्रेस, जसपा नेपाल, लोसपा र माओवादी केन्द्र आवद्ध संयुक्त संघर्ष समितिका पदाधिकारीहरुले पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख मलहा भ्रष्टचारीको संरक्षक रहेको आरोप लगाएका छन् । नग्रप्रमुख मलहाले एजेण्ट राखेर विभिन्न योजना तथा कार्यक्रमबाट अबैध रुपमा मटो रकम लिने गरेको संघर्ष समितिको आरोप छ ।
नेपाली काँग्रेसका नगर सभापति तथा मेयर पदका प्रत्यासी उम्मेदवार नारायण यादवले भ्रष्टाचार गर्न कै लागि मेयर मलहाले नगरपालिकालाई एमाले कार्यकर्ता तथा आसेपासेलाई कर्मचारी भर्ती केन्द्र बनाएको आरोप लगाए ।
मेयर मलाहले नगरपालिकाको ८० प्रतिशत उपभोक्ता समिति बनाएर आफै भुक्तानीका लागि विभिन्न शाखामा गएर दवाव दिने गरेको उनले पत्रकार सम्मेलनमा बताए ।
मेयर मलाहको कारण नगरपालिकामा भ्रष्टाचारको अखाडा बन्दै गएको बताउंँदै उनले भ्रष्टाचारको शृङ्खला नरोकिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
जसपा नेपालका जिल्ला कार्यकारिणी सदस्य एवम् स्थानीयबासी राजेश्वर प्रसाद रायले शिक्षा संयोजक कृष्ण कुमार यादव र प्रशासन प्रमुख उमेश साह मार्फत मेयर मलहाले विभिन्न योजना तथा कार्यक्रमको कमिसन असुल्ने गरेको आरोप लगाए ।
उनले नगरप्रमुखको मिलोमतोमा विभिन्न योजना तथा कार्यक्रमहरुको फर्जी विलभर्पाई तथा कगज मिलान गरी करोडौं भ्रष्टाचार गरेको दावी गरे ।
जसपा नेपाल डानेश्वरी नगरपालिकाका नगर उपाध्यक्ष ओम प्रकाश यादवले करार कर्मचारी नियुक्तिमा मेयर मलहाले करोडौ भ्रष्टाचार गरेको बताए । नगर प्रहरीसहित ४० जना कर्मचारी नियुक्त गर्दा नगरप्रमुख मलहाले ३ देखि ५ लाख सम्म कमिसन लिएको उनले आरोप लगाए ।
पुर्वाधार विकास,विद्यालयको खाजा कार्यक्रम, सेनेटरी प्याड खरिदलगायतका विभिन्न शिर्षकमा भएको भ्रष्टाचारको प्रमाणसहित अख्तियरमा उजुरी दर्ता गर्दा समेत अख्तियार समेत मौन बसेको उनले जानकारी दिए ।
नगरपालिकामा भएको भ्रष्टाचार र वेतिथि रोक्न नगरप्रमुख मलहाको पटकपटक ध्यानाकर्षण गराउंँदा समेत सुनुवाइ नभएको संघर्ष समितिका सदस्य नेकपा माओवादी केन्द्रका दलित मोर्चाका केन्द्रिय सदस्य एवम् नगर इन्चार्ज भुलाई रामले बताए ।
संघर्ष समितिको तर्फबाट ज्ञापनपत्र बुझाउंँदा माग पूरा गर्ने पक्षमा नगर प्रमुख नहुंँदा धैरैपटक बार्ताको समय तोकेर वेवास्ता गरेकोले आन्दोलनमा उत्रिनु बाध्य भएको संघर्षसमितिका पदाधिकारीले पत्रकार सम्मेलनमा बताए ।
चार राजनीतिक दल आवद्ध संयुक्त संघर्ष समितिले सोही पत्रकार सम्मेलनमा विभिन्न १४ सुत्रीय माग राखी मशाल जुलुस प्रदर्शन तथा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । संघर्ष समितिद्वारा शनिबार ५ बजे साँझ मसाल जूलूस प्रदर्शन गर्ने र आइतबारदेखि लगातार ४ दिनसम्म नगरपालिका अगाडि १ घण्टा धर्ना दिनेसहितका ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलन बोल्दै संघर्ष समितिका पदाधिकारीहरुले शान्तिपूर्ण आन्दोलनका कार्यक्रमबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
नगर प्रमुख मलहाले आफुमाथी लगाइएको आरोप निराधर रहेको बताए । नगरपालिकामा भ्रष्टाचार भएको भन्ने विपक्षीहरुले चलाएको अनावश्यक भ्रमको पछाडि नलाग्न आग्रह गर्दै नगरप्रमुख मलहाले भ्रष्टाचार भएको प्रमाणित गरेर देखाउन चुनौती दिए ।
प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले कर्मचारी तथा जनप्रतिनिधि विच द्वन्द फैलाएर सेवाग्राहीहरुको भुक्तानीमा अवरोध सिर्जना गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । काम सम्पन्न भएको योजनाको भुक्तानी दिन निर्देशन दिंदा प्रमुख प्रशासकीय अधिकृत कर्णले अटेरी गरेको बताउंँदै मेयर मलहाले उनकै कारण सयौं सेवाग्राहीहरु मर्कामा परेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका पदाधिकारीहरुले “नगर शिक्षा ऎन संशोधन हुनुपर्ने, राजनीतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गर्नुपर्ने, आर्थिक बर्ष २०७९/०८०को कोभिड १९ मा खर्च गरिएको आयव्यय उपलब्ध गर्नुपर्ने, सर्पदंश अस्पतालको लागि खरिद गरिएको उपकरणहरुमा भएको अनियमितता छानबिन गरी अविलम्ब संचालन गर्नुपर्ने, दरबन्दी मिलान बेगारको गरिएको शिक्षक सरुवाको निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार यादवलाई अविलम्ब सरुवा गर्नुपर्ने” माग राखेका छन् ।
यसैगरी पुराना कार्यरत कर्मचारीलाई राजनैतिक पुर्वाग्रही तरिकाले हटाइएकोमा पुनर्वहाली गर्नुपर्ने, सर्वदलीय बैठकद्वारा टोल, बस्ती समिती अविलम्ब गठन गरी संचालन गर्नुपर्ने, कर्मचारी उमेश साहलाई दरबन्दी भएको ठाउँ बनौला स्वास्थ्य चौकीमा अविलम्ब पठाउनुपर्ने, आव २०८९/०८० चालू आव २०८०/०८१ को हालसम्मको औषधी तथा सेनेटरीप्याडको खर्च विवरण अविलम्ब उपलब्ध गराउनुपर्ने उनीहरुले माग राखेका छन् ।
यस्तै आव २०७९/०८० स्वास्थ्य, कृषि तथा पशुस्वास्थ्यमा गरिएको सम्पुर्ण विवरण उपलब्ध गराउनुपर्ने, सामाजिक सुरक्षा भत्ता त्रैमाशिक रुपमा उपलब्ध ग्गर्नुपर्ने, आव २०७९/०८० देखि हालसम्मको इन्धनमा भएको खर्च विवरण उपलब्ध गराउनुपर्ने, सम्पुर्ण खर्च विवरणमा महालेखा परिक्षक प्रतिबेदनले औल्याएको समस्यालाई अविलम्ब कार्यान्वयन गर्नुपर्ने, आव २०८०/०८१ मा शिक्षा शाखाबाट भएको खर्च विवरण उपलब्ध गर्न चार राजनीतिक दलले माग राखेको छ ।
पत्रकार सम्मेलनमा जसपा नेपालका नगर अध्यक्ष लक्षणदेव साह, लाेसपा नगर संयोजक रामसागर मण्डल, डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का कार्यबाहक अध्यक्ष भोगेन्द्र यादव, वडा नम्बर ६ कुशेश्वर यादव, वडा नम्बर ७ का अध्यक्ष सत्रुधन मण्डल, जसपाबाट नगर प्रमुखका प्रत्यासी उम्मेदवार बेचु साह, लोसपा नगर अध्यक्ष रामसागर मण्डल, उमेश यादव, विजली प्रसाद, उमेश यादव,भगवती प्रसाद यादव, जोगिन्द्र मण्डल, धर्मदेव यादवलगायतका स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघर्ष समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यस अघि सोही माग राखी जिल्ला समन्वय समिति सप्तरी र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिएर नगरप्रमुख मलहालाई संघर्ष समितिले ७ दिनभित्र माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिदै ज्ञापनपत्र बुझाएको थियो ।
Tags:
मुख्य समाचार