• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रक्रिया मिच्दै बजेट पेश गर्ने तयारी

प्रक्रिया मिच्दै बजेट पेश गर्ने तयारी
राजकुमार साह
कञ्चनपुर , ५ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले प्रक्रिया मिच्दै अगामी चालू आर्थिक वर्ष २०८१/०८२ को  बजेट, नीति  तथा कार्यक्रम नगरसभामा पेश गर्ने तयारी गरेको छ ।  बजेट नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि ,योजना तर्जुमाका चरणहरु पूरा नगरी असार १० गते रेडिमेट (कपि पेस्ट) बजेट ल्याउने तयारी गरेको हो ।
कञ्चनरुप पालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर -५ का वडा  अध्यक्ष कैलाश साह,आर्थिक विकास समितिका संयोजक तथा १० नम्बरका वडा अध्यक्ष दामोदर खड्का , सुशासन तथा संस्थागत विकास समिति तथा ७ नम्बरका वडा अध्यक्ष श्यामानन्द चौधरीले बजेट, नीति तथा कार्यक्रम तर्जुमाका चरणहरु मध्ये हालसम्म कुनै  चरणहरु पनि पूरा हुन नसकेको  बताए।
 सामाजिक विकास समितिका संयोजक  कैलास साहले नगर प्रमुख ललन प्रसाद गुप्तालाई पटक -पटक अगामी बजेटको लागि छलफल गर्न वैठक बोलाउन भन्दा सुनुवाइ नहुँदा बजेट, नीति तथा कार्यक्रम तर्जुको सन्दर्भमा कुनै छ्लफल हुन नसकेको बताए  । 
“बैठक नभएको कारण निर्धारित समयमा बजेट पेश हुन मुस्किल हुने जस्तो अवस्था छ”,  साहले भने,”यदी आगामी बजेट असार १० गते पेश गरेपनि त्यो बजेट जनस्तरबाट छलफल, प्राथमिकता , आवश्यकता , मध्यकालीन  र दीर्घकालीन लगायतका योजनाहरु सर्वसाधारण जनसमुदायबाट छनोट नभई बन्द कोठाको कपिपेस्ट ( रेडिमेट) बजेट प्रस्तुत हुनेछ ।”
यसैगरी ,अगामी बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरु मध्ये बैसाख १५ गतेभित्र विषयगत शाखा,तथा वडा समितिलाई बजेट सिमा निर्धारण ,बजेट मार्गदर्शन तयारी र आयोजनाका आधारहरू प्रमुख प्रशासकीय अधिकृतले उपलब्ध गराउने प्रावधान रहेको छ । उक्त प्रावधान सन्दर्भमा न्युज टुडेले पालिकाका शाखाहरु मध्ये  स्वास्थ्य शाखाका संयोजक रामसेवक यादव, शिक्षा शाखाका अधिकृत प्रेम कुमार चौधरी  र कृषि विकास शाखाका अधिकृत बेचन यादवसंग बुझ्दा प्रमुख प्रशासकीय अधिकृतले हाल सम्म बजेट तथा कार्यक्रम तर्जुमा सन्दर्भमा कुनै किसिमको केही उपलब्ध नगराएको जानकारी गराए ।
बजेट तथा तर्जुमा समितिका र  राजस्व परामर्श समितिका संयोजक समेत रहेकी उप- प्रमुख मुनाकुमारी पोखरेलले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका कार्य अन्तर्गत फागुन मसान्तदेखि असार मसान्तसम्ममा बजेट प्रक्रियाको सात चरण पूरा गरेर असार १० गते अगामी चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु पर्ने कानुनी व्यवस्था रहेको बताइन्। 
उनका अनुसार असार ५ गतेभित्रमा बजेट तथा कार्यक्रमको एकीकृत मस्यौदा तयार गरि कार्यपालिकामा पेश गर्नु पर्ने कानुनी व्यवस्था छ । तर, स्थानीय बजेट तथा योजना तर्जुमा कार्यक्रमको नियम विपरीत केही अधिकृत स्तरका कर्मचारी र सिमित जनप्रतिनिधिको निजि लाभ हुने गरि  बन्द कोठामा बजेटको तयारी भइरहेको उप- प्रमुख पोखरेलले जानकारी दिइन् ।
बजेटको छनोट प्रक्रिया ४ महिना पहिलेदेखी सुरु हुनु पर्नेमा सो नगरी अबको ४ दिनमा  बजेटको  तयारी गरेर असार १० गते नगर सभामा पेश गर्ने कार्य भैरहेको समेत आफुले जानकारी पाएको उनले बताइन् । 
नगर प्रवक्ता तथा वडा नम्बर -८ का अध्यक्ष कृष्णा प्रसाद साहले बजेट नीति तथा कार्यक्रमको प्रक्रिया पूरा नभएको स्वीकार गरे ।
“बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरु पूरा नभएको सहि हो” उनले भने, “तर , अगामी चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ( बजेट )  असार १० गते प्रस्तुत गर्ने प्रयास हुदैछ ।”