नर्मदेव यादव
रुपनी, ०५ असार ।
सप्तरीको रुपनी गाउँपालिकाको ५ औं गाउँसभा प्रारम्भ भएको छ । आर्थिक बर्ष २०८१ /०८२ को बजेट नीति तथा कार्यक्रममाथि छलफल गर्दै गाउँसभा सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा मधेस प्रदेशका पुर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार आयोजित सभामा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले आव २०८१ /०८२ नीति तथा कार्यक्रम प्रस्तुत गरिन ।

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन विकासलाई जोड दिएको छ ।
विद्यालय उमेरका बालबालिकालाई अनिवार्य रुपमा विद्यालय भर्ना अभियानलाई जोड दिदै सामुदायिक विद्यालयहरुमा प्राथमिक तहमा अनिवार्य अग्रेजी माध्यमबाट पढाइने उपाध्यक्ष लौगीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम उल्लेख छ । स्वास्थ्य उपचारको लागि कुनैपनि नागरिकले उपचारकै कारण ज्यान गुमाउनु नपरोस् भनि स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउने नीति लिएको छ ।

कृषि क्षेत्रको विकासका लागि निशुल्क कृषी मिटर वितरण र सहजरूपमा मलखाद उपलब्ध गराउने, साथै कृषिलाई प्राविधिकीकरण तथा यांत्रिककीकरण र व्यवसायीकरण गर्दै उत्पादनमा वृद्धि ल्याउने लगायतका कार्यक्रममा जोड दिएको छ ।

रुपनी गाउँपालिका ६ स्थित रहेको शनिदेव मन्दिर, रुपनी देवी मन्दिर,कोइली दह, मानपुर दास, रामजानकी मन्दिर,दिनारामभद्री मन्दिर लगायतका पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा प्राथमिकता दिने तथा स्थानीय भाषा, साहित्य कला र संस्कृतिको अभिलेखीकरण गरी प्रचार प्रसार र प्रबर्द्धन गर्न साहित्यक सम्मेलन गोष्ठी, सडक नाटक कार्यक्रमहरु संचालन गर्ने नीति लिइएको छ ।
स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न साना उधोग स्थापना गरी बढीभन्दा बढी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व मन्त्री यादवले दीर्घकालीन सोच लिएर नीति तथा कार्यक्रम आउनु पर्नेमा जोड दिदै पालिकाको गुरु योजनामा स्थानीय स्तरको समग्र विकास हुने योजनालाई प्राथमिकता दिन सुझाव दिए । उनले प्रदेश तथा संघ सरकारबाट दिइने अनुदानका लागि रुपनी गाउँपालिकालाई अग्रपंक्तिमा राखेर बजेट व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षको आषणबाट बोल्दै अध्यक्ष यादवले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई कुनै अतिरिक्त शुल्क नलिने उद्घोष गरे ।
विद्यालयमा परिक्षा तथा अन्य कुनैपनि शुल्क नलिने बताउदै अध्यक्ष यादवले विद्यालय क्ष्रेत्र भित्र सुर्तीजन्य , तथा पादकपदार्थ विक्र वितरण लगाइएको रोकलाई कडाईका साथ लागू गर्ने प्रतिबद्ध व्यक्त गरे ।
उनले तालिम गोष्ठी तथा डिपिआरको नाममा हुने बजेट दुरुपयोगलाई रोक्दै आगामी बजेट ठोस विकास निर्माणको कार्यमा लगाउने बताए ।
सप्तरीका पत्रकार र पत्रकारिता क्षेत्रको समग्र विकासका लागि आबश्यक ऎन, कानुन बनाएर अगाडि बढ्ने अध्यक्ष यादवले प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले नीति तथा कार्यक्रममा अति राम्रो भएपनि पत्रकारिताको विकासका लागि कुनै योजना नहुनु अत्यन्तै दु:खद भएको टिप्पणी गरे । व्यवस्था परिवर्तनका लागि पत्रकारहरुले गरेको योगदानको स्मरण गर्दै पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारीता क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रममा समेटेर बजेट ल्याउन सुझाव दिए ।
उनले सामुदायिक विद्यालयमा शैक्षिक स्तरलाई उकास्न जनप्रतिनिधि र सहकारी सेवामा रहेका सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुको बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्ने नीति ल्याउन आग्रह गरे ।
नीति तथा कार्यक्रममाथि, जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, वडा नम्बर १ की अध्यक्ष लिला कुमारी यादव, वडा नम्बर ३ का अध्यक्षअमरलाल मुखिया, ४ का अध्यक्ष छेदी इसर, ५ अध्यक्ष गंगाराम यादव, गाउँसभा सदस्य गुनेश्वर प्रसाद सन्त लगायतको आ-आफ्नो विचार व्यक्त गरे ।
रुपनी गाउँपालिका जिन्सी शाखा प्रमुख मनोज कुमार साहद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादवले गरे ।