• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा फलामे साङ्गालाले बाँधिएको युवाको उद्वार

सप्तरीमा फलामे साङ्गालाले बाँधिएको युवाको उद्वार
न्यूज टुडे
राजविराज, ०४ असार ।
सप्तरीको शम्भुनाथ नगरपालिका–७, भगवतपुरबाट पाँचबर्षदेखि साङ्गालाले बाँधिएको एक युवकको उद्धार गरेको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मानव सेवा आश्रम जनकपुरधामले मंगलबार स्थानीय २५ वर्षीय प्रविनकुमार चौधरीलाई उद्वार गरेको हो ।
पाँच वर्षदेखि फलामे साङला (सिक्री)मा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार गरी जनकपुरधामस्थित मानव सेवा आश्रम लगिएको आश्रमका सचिव सुमन बड्तौलाले बताए । आश्रमका सचिव सुमन बड्तौला, मधेस प्रदेश संयोजक विवेक महतो, सन्तोष थापा मगरको टोलीले चौधरीलाई उद्धार गरी लगेको इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले जानकारी दिए ।
वि.सं. २०६९ सालमा हेटौँडाबाट शुरु भएको आश्रमले अहिले देशका १९ जिल्लामा २४ केन्द्र स्थापना गरी सेवा गर्दै आएको छ । जसमा हाल १ हजार ७ सय बढी सहयोगापेक्षी व्यक्ति रहेको आश्रमका सचिव बड्तौलाले बताए ।
उपचार खर्चको अभावमा प्रविनलाई घरमा फलामे साङला (सिक्री)ले बाँधेर राखिएको थियो । मधेश प्रदेशका पूर्व मन्त्री महेश यादव र इन्सेक प्रतिनिधि पोखरेलले फलामे सिक्री खोल्दै चौधरीलाई मुक्त गरेको हो ।
उक्त अवसरमा मधेस प्रदेशका वन तथा वातावरण राज्यमन्त्री रन्जु कुमारी मण्डल खंग, सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, एसपी गजु सिद्दी ब्रजाचार्य, उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, वडा अध्यक्ष गोपालप्रसाद चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर मेदिनीप्रसाद साह, रासस प्रतिनिधि नानीमैया कटवाल, इन्सेकद्वारा गठित प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबी माया भट्टराई, मानव अधिकार समूह शम्भुनाथका कोषाध्यक्ष शिवशंकर राम, इन्सेक सहजकर्ता अजय परियारलगायतको उपस्थिती रहेको थियो ।
मानसिक रोगका बिरामी चौधरीलाई उपचारको लागि अस्पताल लगिएको भएपनि आर्थिक अभावका कारण पटक–पटक अस्पताल लैजान र औषधि उपचार गर्न असमर्थ भएकोले घरमै राखिएको प्रविनकी आमा इश्वरीदेबीले बताइन् । मनोरोगी छोरो गाउँ घरमा गइ उपद्रो मच्चाउने र स्वयम् छोरालाई समेत चोटपटक लाग्ने भयले बाध्य भएर पाँच वर्षदेखि सिक्रीमा बाँधेर राख्नु परेको उनले जानकारी दिइन् ।
प्रविनका दाजु रबिन वेपत्ता छन भने उनका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भइसकेको छ । कान्छो भाई सन्तोष भने बालकै उमेरदेखि काठमाडौमा ज्याला मजदुरी गर्दै आएका छन् ।
छोराहरुको शोक मै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई प्रविनको स्याहार गर्नु पर्ने भएपछि मजदुरी गर्न बाहिर जान समेत समस्या पर्ने गरेको थियो ।
बाँधेकै स्थानमा शौच गर्ने प्रविनलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्थिन । निकै जिद्दी गरेपछि माया लागेर एक पटक प्रविनको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछी बाध्य भएर २४ सैं घण्टा बाँधेर राख्नु परेको इश्वरीदेबीले बताइन् ।
औषधि उपचार पाए छोराको रोग निको हुन्थ्यो की भन्ने आशमा रहेकी उनले छोराको उपचारका लागि सबैतिर सहयोग माँगेर थाकेकोले उपचारको पहलका लागि इन्सेक प्रतिनिधिसँग आग्रह गरेकी थिइन् ।
“इन्सेक प्रतिनिधिको घर गएर आग्रह गरेको केही दिन पछि उहाँ आएर छोराको अवस्था हेरेर जानु भएको थियो, अहिले छोरालाई उपचार र स्याहारका लागि लैजानु भयो ।” इश्वरीदेबीले भनिन्–“सबैले राम्रो अस्पतालमा लैजान सुझाव दिएका हुन् तर, मसँग पैसा अभावमा उपचार गराउन असमर्थ भएकाले निराश भएको थिए । अब औषधि उपचार र आश्रमको स्याहारले सुधार हुन्छ भन्ने आशा जागेको छ ।”