• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाल-भारत विधुत प्रशारण तथा व्यापार आयोजनामा चलखेल, क्षतिपूर्तिमा पनि भेदभाव

नेपाल-भारत विधुत प्रशारण तथा व्यापार आयोजनामा चलखेल, क्षतिपूर्तिमा पनि भेदभाव
न्यूज टुडे
राजविराज, ०३ असार ।
हेटौंडा-ढल्केवर- इनरुवा नेपाल-भारत विधुत प्रसारण तथा व्यापार आयोजनामा व्यापक चलखेल हुने गरेको आयोजना पीडितहरुले आरोप लगाएका छन् । आर्थिक चलखेलका कारण पीडितले पाउने क्षतिपूर्तिमा पनि भेदभाव हुने गरेको भन्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
आयोजना प्रमुख लालबाबु प्रसादको उपस्थितमा १० बजे राती काटिएको रुपनी ६ का ल्हेलानन्द चौधरीको बाँस । फोटो : न्यूज टुडे
वडा कार्यालयदेखि-डिभिजन कार्यालय इनरुवा सुनसरीसम्मको मिलोमतोमा सेटिङ्ग मिलाएर अनियमितता हुने गरेको पीडितहरु बताउछन् ।
पहुँचवाला, बोल्न सक्ने तथा घुसदिन तयार हुनेको मुल्यांकन बढाएर छिटो भुक्तानी दिने र बोल्न नसक्ने निमुखाहरुको घरजग्गाको मुल्यांकन घटाएर क्षतिपूर्ति दिन समेत आलटाल गरेको पीडितहरुको गुनासो छ ।
आर्थिक चलखेल गरेर एकै ठाउँका समान प्राकृतिको जग्गाको मुल्यांकन फरक गर्ने तथा भुक्तानीमा पनि छिटो-ढिलो गरी भेदभाव हुने गरेको पीडितहरुको भनाई छ ।
रुपनी गाउँपालिका वडा नम्बर ६ का खेलानन्द चौधरीले आफ्नो बाटो भएको जग्गाको क्षतिपूर्ति नपाएको तथा सोही जग्गाको सिमासंग जोडिएको जग्गाको भुक्तानी जग्गाधनीले पाइसकेको बताए ।
“समान प्रकृतिको जग्गा भएपनि घरेडी योग्य ( आवासीय) भनि मेरो सिमासंगै जोडिएको जग्गाको १७ लाख पचास हजार मुल्यांकन गरिएको छ”,उनले भने, “तर मेरो जग्गाको  खेतीयोग्यमा राखी ८ लाख १२ हजार मात्र मुल्यांकन गरी भेदभाव गरेको छ ।”
आयोजना डिभिजन प्रमुख तथा विचोलियासंग आफ्नो  पहुँच नहुँदा आफुखुशी जग्गाको मुल्यांकन घटाएको उनले बताए ।
उनले जग्गाको क्षतिपूर्ति तथा मुल्यांकन घटाएको बारे नेपाल-भारत विधुत प्रसारण तथा व्यापार आयोजना डिभिजन कार्यालय इनरुवा सुनसरीका प्रमुख लालबाबू प्रसादसंग बुझ्नजाँदा रुखो व्यवहार गरेको दुखेसो सुनाए ।
एउटै ठाउँमा यस्तो कसरी भएको विषयमा कार्यालय प्रमुख लालबाबुसंग बुझ्दा समायोजन फारम भर्न लगाएको तथा उनले मेरो मोबाइल नम्बर समेत ब्याकलिस्ट गर्दा फोन सम्पर्क नभएपछि जेठ २८ गते कार्यालय प्रमुखलाई भेट्न जाँदा यो नै हो झगडा गर्ने मान्छे भन्दै भेट्न समेत नमानेको बताए ।
कार्यालय प्रमुख आफै उपस्थित भएर असार १ गते राती १० बजे बाँस काट्न आएको बताउंँदै उनले यस आयोजनामा कतिसम्म चलखेल तथा घोटला गरेको छ भन्ने कुरो यसैबाट पुष्टि भएको बताए ।
कुनै आर्थिक चलखेल नभएको भए दिउँसो प्रशासनको सहयोग लिएर बाँस काटेर हटाउने थियो भन्दै उनले  घुसको पोल खुल्ने डरकै कारण डकैती शैलीमा राती बाँस काट्न आएको तर्क गरे ।
कार्यालय प्रमुख लालबाबु प्रसाद र साहायक अर्जुन यादवकै मिलोमतोमा अनियमितता हुने गरेको रुपनी ६ कै एक पीडितले बताए । उनका अनुसार सेटिङ मिलेकोमा रुखको संख्या बढाएर बढी क्षतिपूर्ति तथा घर जग्गाको मुल्यांकन बढाएर छिटो भुक्तानी दिने गरेको छ ।
फर्जी कागजपत्र मिलाएर ३० लाखसम्म भुक्तानी पाउनेसंग ३ लाख, ५० लाख पाउनेसंग ५ लाख तथा १ करोडभन्दा बढी क्षतिपूर्ति पाउनेसंग २० लाखसम्म विचोलिया मार्फत कमिसन लिने गरेको एक पीडितले आरोप लगाए ।
वडा कार्यालयबाट एकै किसिमको जग्गा मुल्यांकन गरी पठाएपनि समान प्रकृतिको जग्गामा मुल्यांकन बढाएर कसैलाई बढी भुक्तानी गरेको तथा कसैलाई तेब्बर मुल्यांकन घटाएर कम भुक्तानी दिनुकोसाथै आफ्नो भने हालसम्म भुक्तानी अड्काएर काखपाखा गरेको रुपनी ६ विरेन्द्र बजारका एक पीडितले दुखेसो पोखे ।
यस्तै दुखेसो छ अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका पीडितहरुको पनि । पहुँचवालाहरुको खातामा पैसा जम्मा गरिदिएको तथा बोल्न नसक्नेहरुको विभिन्न बहानामा फायल फर्काउने गरेको उनीहरुको गुनासो छ ।
एउटै ग्राइभेलबाटोले भेटाएको छिमेकीको ३० लाख प्रतिकट्ठाको दरले मुल्यांकन गरी रकम खातामा पठाएको बताउंँदै अग्नीसाईर कृष्णासवरन २ का  एक पीडितले  एकैपटक कागजपत्र पेश गर्दा समेत आफ्नो भने क्षतिपूर्ति बापतको रकम नपाएको गुनासो गरे ।
उनले कार्यालयलाई मिलाउन सक्नेहरुको छिटो तथा आर्थिक लेनदेनको आधारमा क्षतिपूर्ति वापत  पाउदै- नपाउने रकम समेत भुक्तानी दिने गरेको टिप्पणी गरे ।
नेपाल- भारत विधुत प्रसारण तथा व्यापार आयोजना डिभिजन कार्यालय इनरुवा सुनसरीका प्रमुख लालबाबु प्रसादले आफुहरुमाथि लगाएको आरोप निराधर रहेको बताउँदै क्षतिपूर्तिमा कसैसँग भेदभाव नगरेको बताए ।
उनले वडा कार्यालयको सिफारिस र मालपोत तथा नापी शाखाले उठाएको मुचुल्काको आधारमा जग्गाको मुल्यांकन गरी भुक्तानी दिने गरेको तथा एउटै सिमानाको जग्गामा कसैको कागत पत्र अपुग हुन जाँदा भुक्तानीमा ढिलो भएको बताए ।
नेपाल सरकार, प्राधिकरणको संयुक्त लगानीमा ( विश्व बैकको ॠण सहयोग)मा नेपाल -भारत विधुत प्रसारण तथा व्यापार आयोजनामा संचालित निर्माणाधीन हेटौंडा- ढल्केवर- इनरुवा ४ सय केभी प्रसारण कार्यमा क्षतिपूर्तिको नाममा व्यापक घोटाला हुने गरेकोले छानबिन गरी संलग्न व्यक्तिहरुमाथी कारबाही हुनुपर्ने आयोजना पीडितहरुले माग गरेका छन् ।