न्यूज टुडे
राजविराज, ०२ असार ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा ,सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा संचलित रुपान्तरण परियोजना कृषि क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । केयर नेपालको सहयोग तथा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको समन्वय एवम् राष्ट्रिय कृषक समूह महासंघको प्राविधिक सहयोमा रुपान्तरण परियोजना मार्फत कृषीजन्य उत्पादनमा वृद्धि हुनथालेपछी कृषि क्षेत्रको लागि लोकप्रिय बनेको हो ।

महासंघको आर्थिक तथा प्राविधिक सहयोगले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण तथा यांत्रिकीकरण गर्दै उत्पादनमा निकै सुधार आएको युवा कृषक समुह घोघिदाहाकी रन्जना चौधरीले बताइन् । सिचाइ तथा विधुत समस्याले बालीनाली लगाउंँन कठिनाइ हुने गरेको बताउंँदै उनले कृषिमा प्राविधिकीकरण गर्दै कृषि उत्पादन वृद्धिका लागि रुपान्तरण योजनाले टेवा पुगेकोले यसको निरन्तरता जोड दिइन् ।

समुहका अध्यक्ष सत्रुधन साहले परिक्षण कालमै परियोजना मार्फत धैरै प्राविधिक ज्ञान पाएर स्थानीय स्तरमा प्राप्त सिमित श्रोत साधनको उपयोगबाट किसानहरुले अत्याधिक लाभ लिन सफल भएको बताए । रुपान्तरण परियोजनाले पहिलेको तुलनामा किसानहरुको जीवन शैलीमा परिबर्तन आएको बताउँदै उनले सिंचाइ तथा विधुतीकरणमा स्थानीय सरकारले थप सहयोग गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालले २०७९ सालमा अग्नीसाईर कृष्णासवरन गाउँपालिकासंग सम्झौता गरी विभिन्न वडामा कार्यक्रम संचालन रहेको छ। कार्यक्रम अन्तर्गत गाउँपालिका भरी ८७ कृषक समूह गठन गरिएको महासंघकी केन्द्रिय सदस्य एवम् गाउँपालिका सहजकर्ता सुमित्रा कुमारी चौधरीले जानकारी दिइन् ।
किसानमा बचत कार्यक्रम,कृषक पाठ्शाला,जग्गा करार गरी लिजमा लिएर सामुहिक खेती, थोपा सिंचाइ ,गोठसुधार कार्यक्रम प्राङ्गगारिक मल उत्पादन,प्रविधिमैत्री तथा जलवायुमैत्री कृषि अभ्यास कार्यक्रमहरु संचालनमा रहेको उनले जानकारी दिइन्।
समुहमा आवद्ध सदस्यहरुले पोषण कार्यक्रम अन्तर्गत खोर बनाएर हांँस पालन, कुखुरा पालन गरेर अण्डा उत्पादन गरी बिक्री गरेर बचत पनि गरेको सहजकर्ता चौधरीले बताइन् ।
८७ कृषक समूह मध्ये ६० वटामा रुपान्तरण परियोजना अन्तर्गत पाठशाला र २७ वटामा पोषण कार्यक्रम तथा युवा कृषक समुहलाई जलबायुमैत्री गाउँ घोषणा गरी कार्यक्रम संचालन भइरहेको उनले जानकारी गराईन ।
अर्गानिक विधिद्वारा विषादी प्रयोग नगरी सामुहिक तरकारी खेती, साग, काँकरा , केरा, करेला लगायतको उन्नत जातको बेमौसमी तरकारी उत्पादन भइरहेको स्थानीय किसान नरेश चौधरीले जानकारी दिए । रुपान्तरण परियोजनाले किसानहरूलाई कृषि क्षेत्रमा आकर्षित गराउनको साथै कृषिलाई व्यवसायीकरण गर्न उत्साहित तुल्याएको उनले बताए ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा संचालित रुपान्तरण परियोजनाको आइतबार एक सरोकारवाला निकायका टोलीले गाउँपालिका अन्तर्गतका कृषक समुहहरुको स्थलगत निरीक्षण गरेको छ ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी नेतृत्वमा रहेको अनुगमन टोलीले समुहमा आवद्ध किसानहरुको घर-घरमा पुगेर समुहको अवस्था बारे जानकारी लिएका छन् ।
गाउँपालिका अध्यक्ष नेतृत्व टोलीमा वडा नम्बर १ का वडा अध्यक्ष सबजुल खलिफा, ५ का वडा अध्यक्ष हरि खंग,पशुशाखा अधिकृत सतिष कुमार चौधरी,कृषी शाखा संयोजक चन्द्र रेखा कुमारी चौधरी,कृषक समूह महासंघ नेपालका प्रदेश कोषाध्यक्ष निर्मला चौधरी,महासंघका पुर्व जिल्ला अध्यक्ष सुखिलाल यादव, पत्रकार बृजमान तामाङ लगायतका सहभागी थिए ।
यसैगरी राष्ट्रिय कृषक समुह महासंघका रुपान्तरण परियोजनाका कृषि प्राविधिक अधिकृत इश्वर थापा, पोषणका कृषि प्राविधिक किरण प्रदेशी, रुपनी गाउँपालिका कार्यक्रम सहायक रामनारायण महतो,अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका महासंघका अध्यक्ष रमानन्द चौधरी, सचिब टिकालक्ष्मी चौधरी समेत अनुगमनमा सहभागी थिए।
टोलीले विभिन्न वडामा रहेको कृषक समुहको बारेमा र समूहहरुमा रहेको समस्या तथा समाधानको विषयमा कृषक समुहमा आवद्ध किसानहरूसंग जानकारी लिएका थिए।