न्यूज टुडे
राजविराज, ३२ जेठ ।
राजविराजमा दुईदिने सप्तरी विचार उत्सव सुरु भएको छ । विणा फाउण्डेशनको आयोजना तथा राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका र सप्तरी युथ नेपालको सह-आयोजनामा राजविराजमा शुक्रबार आयोजित एक समारोहका वीच विचार उत्सवको उद्घाटन गरिएको हो ।

विणा फाउण्डेशनका अध्यक्ष बरुण झाको अध्यक्षतामा आयोजित सप्तरी विचार उत्सवको संघीय सांँसदहरु योगेश भट्टराई, डा. अम्रेश कुमार सिंह, मनिश झा, ज्ञानेन्द्र साही, गणेश पराजुली,पुर्व मन्त्री उमेश यादव, राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलगायतले संयुक्त रुपमा पानसमा बत्ति बालेर र गमलामा पानी खन्याएर उद्घाटन गरे ।

शिवशंकर सिनेमा हलमा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष बैधनाथ यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै इतिहासकै पहिलो पल्ट आयोजित सप्तरी विचार उत्सवले सप्तरीको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

चर्चित कार्यक्रम प्रस्तोता जेनिसा जुनेर र धनश्याम मिश्रद्वारा संचालित कार्यक्रममा स्वागत मैथिली साहित्य परिषद नेपालका अध्यक्ष अबधेश झाले गरेका थिए भने कार्यक्रमको आबश्यकता र औचित्यताको बारे सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले गरे ।
सप्तरी विचार उत्सवमा “सप्तरी राजनीतिमा अगाडि विकासमा पछाडी, मैले बुझेको देश र मैले बुझेको मधेश, जातिय विभेद, नयाँ दल, पुरना दल, सामाजिक कलंक, सप्तरीको स्थानीय तहमा चुनौती र अवसर, संघर्ष पथमा मधेशी महिला, संघीयताको सम्भावना र चुनौती, लगायतका १५ वटा सत्रमा राजनीतिककर्मी, सामाजिक अभियनता, स्थानीय जनप्रतिनिधि, इतिहासकार,पत्रकारसहितका विशिष्ट व्यक्तित्वहरु र विभिन्न क्षेत्रका विज्ञहरु वीच दुई दिनसम्म बृहत विचार विमर्श हुने आयोजकले जनाएको छ ।