सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित रहेको माध्यमिक विद्यालय भुर्की सितापुरमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालयमा बिहिवार आयोजित अभिभावक भेलाले उमेश कुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको हो ।
गठित समितिको सदस्य सचिबमा शिक्षक श्याम कुमार चौधरी चयन भएका छन् भने पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र कुमार चौधरी रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा प्रथमलाल चौधरी, लक्ष्मी कुमारी चौधरी,सिर्जना चौधरी, चन्द्रकला चौधरी,चिन्तामणी महतो, दुर्गानन्द साह,चम्पालाल चौधरी र सीता चौधरी रहेका छन् ।
शिक्षक अभिभावक संघ गठनका लागि आयोजित भेलामा सहभागी अभिभावकहरु । फोटो : न्यूज टुडे
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकार बृजमान तामाङले जिल्लामै उत्कृष्ट विद्यालयको सुचीमा मावि सितापुर भुर्कीले आफ्नो पहिचान बनाएको बताए । उनले यसको श्रेय प्रधानाध्यापसहित शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति, पुर्व शिक्षक अभिभावक संघ तथा अभिभावकले पाएको उल्लेख गरे ।
विद्यालयको गरिमा र शैक्षिक बाताबरणलाई उच्च स्थानमा कायम राख्न शिक्षक अभिभावक संघको महत्त्वपूर्ण भुमिका हुने बताउंँदै उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सम्पुर्ण समय खर्च गर्न सक्ने व्यक्तिलाई सर्वसम्मत संघको नेतृत्व दिनुपर्नेमा जोड दिए ।
प्रधानाध्यापक दुर्गानन्द चौधरीले विद्यालयको सर्वाङ्गीण विकासको लागि शिक्षक, अभिभावक र विद्यार्थीको अत्यन्तै ठूलो जिम्मेवारी रहेको बताए ।
शिक्षकहरुको प्रयासले मात्र सफलता हाँसिल नहुने जिकिर गर्दै उनले आफ्ना सन्तानलाई राम्रो शिक्षा र असल संस्कार सिकाउन अभिभावकहरु समेत उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
बालबालिकाले “जे सुन्यौं, जे देख्यौ त्यही सिक्ने” भएकोले अभिभावकहरुलाई खराव वानी त्यागेर विद्यार्थीको पठनपाठन तिर बढी ध्यान दिन उनले आग्रह समेत गरे ।
अभिभावक पुष्पा चौधरीले विद्यार्थीहरुले नियमित गृह कार्य गरेर आएको चेकजाँच नहुने गरेको गुनासो गरिन । उनले शिक्षक, अभिभावक तथा विद्यार्थीबाट भएको कमिकमजोरीलाई समिक्षा गर्दै सुधार गर्नुपर्ने सुझाव दिइन् ।
विद्यालय व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक कुलानन्द चौधरीले गरेका थिए ।