न्यूज टुडे
राजविराज, २९ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ का रमण सिंहले पुर्व सुचना विनै प्रहरी लगाएर आफुहरुको घर भत्काई दिएको पीडित पक्षले आरोप लगाएका छन् । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का रामेश्वर मण्डल र उनको बुहारी सरोजदेवी मण्डलले राजविराजमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाए हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै रामेश्वरले कुनै जानकारी नदिइ रमण सिंहले जेठ २६ गते प्रहरीकै उपस्थितिमा घर भत्काई दिएको आरोप लगाए ।
“आफ्नो बुवाकै पालादेखि घर बनाएर बस्दै गरेको जग्गामा सिंहले प्रहरीकै संरक्षणमा उठिबास गर्न खोज्यो”, पत्रकार सम्मेलनमा रामेश्वरले भने, “घर भत्काउने भन्ने कुराको जानकारी कुनै निकायले दिएन तर एक्कासी प्रहरीकै उपस्थितिमा घर भत्काई दियो । “
बटैया र बनिबुतो गरेरे जोहो गरेको अन्नपात समेत झिक्न नदिई बाहिरबाटै मान्छे लगाएर घर भत्काउँदा आफ्नो परिवार विचल्लीमा परेको उनले दुखेसो पोखे ।
सम्पत्तिको नाममा रहेको ७ धुर जग्गा र त्यसमा रहेको ४ वटा झुपडी घर समेत भत्काइदिएकोले आफुहरु त्यही भत्किएको घरको खुल्ला आकासमुनी त्रिपाल टाँगेर जिवनयापन गर्दै आएको उनले पत्रकार सम्मेलनमा बताए ।
आफुहरुमाथि अन्याय अत्याचार हुँदा समेत हामी निमुखाको पक्षमा बोलिदिने कोहि नभएकोले न्यायको गुहार माग्न पत्रकारहरुको शरणमा आउनु परेको रामेश्वरले दुखेसो सुनाए ।
तीन पुस्तादेखि हकभोग गर्दै आएको घर जग्गा सिंहले फर्जी कागत-पत्र खडा गरी हडप्न खोजेको उनले आरोप लगाए ।
“जग्गासंग कुनै साइनो सम्बन्ध नभएको सिंहले किर्ते गरेर फर्जी कागत-पत्र बनायो” मण्डलले भने, ” विन्देश्वरी प्रसाद सिंहको घरमा मेरो बुवा नोकर बसेको बेला उनको मेनेजर चन्द्रीका सिँहले गाउँ ब्लक २१८ नम्बरमा परेको साविक किनं.१५४७ रहेको जग्गामा मेरो बुवा मुन्नी मण्डललाई घरबास गर्न हक हस्तान्तरण गरेका थिए, उनले थपे, ” कुल १५ धुर क्षेत्रफल रहेको जग्गा गाउँ ब्लक नाप डोर खटिदा मैले मेरो नाउँमा नापी नक्सा गरेको कागजपत्र मसंग सुरक्षित नै छ । “
उनले सम्पत्तिको नाममा भएको उक्त जग्गाबाट विस्थापित गर्ने नियतबस घर भत्काउँदा आफू र आफ्ना परिवार सार्है अन्यायमा परेकोले न्यायको लागि गुहार समेत मागे ।
अर्कापिडीत सरोजदेवी मण्डलले आफुहरुलाई विस्तावित गर्न पटकपटक दुख दिएपछी शुल्क तिरेर बस्न खोज्दा समेत सिंहले नमानेको बताइन् । गाउँसमाजले गरेको निर्णय बमोजिम प्रतिधुर १ लाख २५ हजारको दरले रकम बुझाउँन तयार हुँदा समेत सिंहले २ लाख प्रतिधुरको दरले १४ लाख दावी गरी उल्टै आफुहरुमाथी जगा खिचोला मुद्दा हालेको उनले जानकारी दिइन् ।
“घर हटाउन पुर्व जानकारी गराउनु पर्थ्यौ तर त्यस्तो गरिएन” उनले भनिन्, ” नियतबस प्रतिशोधको भावनाले घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा फर्निचरसहितका सम्पुर्ण धनमाल क्षति हुने गरी आक्रमण गर्यो, यस्तो अन्याय गर्न पाइन्छ ? “
सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिध्दी बज्राचार्यले अदालतले सिंहको पक्षमा फैसला गरेको र अदालतबाट डोर खटेर आएकोले फैसला कार्यान्वयनका लागि प्रहरीले सहयोग गरेको बताए । घर हटाउन पुर्व सूचना भए-नभएको बारे अदालतकै विषय रहेकोले आफुहरुलाई सुरक्षा माग गरेकोले प्रहरी खटाइएको उनले जानकारी दिए ।
यस सम्बन्धमा रमण सिंहसंग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।