न्यूज टुडे
राजविराज, २६ जेठ ।
गृह जिल्लाका छिन्नमस्ता शक्तिपिठसहित विभिन्न मन्दिरहरुको दर्शन गरी मुख्यमन्त्री सतिष कुमार सिंह शनिबार राजधानी जनकपुर प्रस्थान गरेका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरी शुक्रबार नै गृह जिल्ला आएका मुख्यमन्त्री सिंह सप्तरीका प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवतीसहित विभिन्न मन्दिरहरुको दर्शन गरी जनकपुर फिर्ता भएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएपछि शुक्रबार राती ९ बजे गृह जिल्ला आएर सिंहले प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवतीको दर्शन गरी सप्तरीको कोइलाडी स्थित गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरे ।
यसैगरी मुख्यमन्त्री सिंहले शनिबार महादेवा गाउँपालिका स्थित अंकुरी महादेव मन्दिरको दर्शन गर्नुकोसाथै राजविराज स्थित गजेन्द्र चौकमा पुगेर मधेशवादका पर्वतक गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरे ।
कुलदेवाताको दर्शन गरी राजविराज स्थित निवासमै आफ्ना शुभचिन्तकहरुसंग भेटघाट पछि मुख्यमन्त्री सिंह शनिबार नै राजधानी जनकपुर प्रस्थान गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
जनमत पार्टी, सप्तरी २ (क) बाट प्रदेशसभामा निर्वाचित सिंह नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा शुक्रवार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।