जनमत पार्टी सप्तरी २ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य सतिश कुमार सिंह मधेश प्रदेशको तेश्रो मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख भण्डारीबाट शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । जनकपुरधाम स्थित मधेश भवनको कबर्ड हलमा आयोजित एक समारोहका विच मुख्यमन्त्री सिंहले पदभार ग्रहण गरे ।
जनमत पार्टी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंह शुक्रबार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री सिंहले शुक्रबाररै १४ सदस्य मन्त्री परिषद गठन गरेका छन् । मुख्यमन्त्री सिंहको सिफारिसमा नेपाल संविधानको धारा १७८ को उपधारा (९) बमोजिम मन्त्री परिषद विस्तार गरिएको छ ।
नवगठित मन्त्रीपरिषदमा सरोज कुमार यादव, भौतिक पुर्वाधार विकास मन्त्री, भरत प्रसाद साह, अर्थ मन्त्री, गोविन्द बहादुर न्यौपाने, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, युवराज भट्टराई उधोग वाणिज्य तथा पर्यटन मन्त्री, राज कुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएका छन् ।
यसैगरी सत्रुधन प्रसाद सिंह स्वस्थ्य तथा जनसंख्या, बेची लुङ्गेली, उर्जा तथा सिंचाइ,प्रमोद कुमार जयसवाल, खेलकुद तथा समाज कल्याण,विमला अन्सारी, गृह तथा कानुन, उर्मिला चौधरी, श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।
यसैगरी केशव राय स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री, सारदा देवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रन्जु कुमारी मण्डल खंग विना विभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।
नवगठित मन्त्रीहरुलाई प्रदेश प्रमुख भण्डारीले पद तथा गोपिनीयताको सपथ गराएकी थिइन् भने मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरुलाई सपथ ग्रहण गराएका थिए ।
मुख्यमन्त्री सिंहले बन तथा बाताबरण मन्त्रालय आफैले राखेका छन् ।
मधेश प्रदेशमा प्रदेशसभा सदस्य१ सय ७ छन् भने सरकार बनाउन ५४ साँसद आबश्यक पर्नेमा ५५ साँसदको मुख्यमन्त्री सिंहलाई समर्थन छ । एमाले २४, जनमत १३, माओवादी केन्द्र ९, नेकपा एस ७ , नागरिक उन्मुक्ति पार्टी १, नेपाल संघीय समाजवादी पार्टी १ गरी ५५ प्रदेश सभा सदस्यको समर्थन मुख्यमन्त्री सिंहलाई छ ।
नवनियुक्त मन्त्री मध्ये श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी नागरिक उन्मुक्ति पार्टीकी साँसद हुन् भने गृह, संचार तथा कानुनमन्त्री अन्सारी नेपाल संघीय समाजवादी पार्टीकी साँसद हुन् । ती दुबै पार्टीको एक-एकजना मात्र साँसद छन् ।