न्यूज टुडे
राजविराज, २३ जेठ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ विरेन्द्र बजार क्षेत्रमा तीनदिनदेखि भएको विधुत अवरुद्ध विरुद्ध स्थानीयबासीले सडक जाम गरेको छ । अवरुद्ध विधुत सुचारुको माग गर्दै स्थानीयले पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजारमा बुधबार एकघण्टा चक्काजाम गरेको हो ।
तीनदिन देखि विधुत अवरुद्ध हुँदा समेत विधुत प्राधिकरणले विधुत सुचारु गर्नेतर्फ कुनै चासो नदिएकोले आन्दोलनमा उत्रिनु बाध्य भएको स्थानीयले बताए ।
प्रचण्ड गर्मीको समयमा विधुत अवरुद्ध रहँदा ठूलो सास्ती खेप्दा समेत विधुत सुचारु गर्न विधुत प्राधिकरणले ध्यान नदिएकोले सडक संघर्षमा उत्रिएको स्थानीयबासीको भनाइ छ ।
स्थानीयबासीले सडकमा कुर्सी, बेन्चसहितका सामाग्री विच सडकमा तेर्साएर बसेपछि दिनको १२ बजेदेखि १ बजेसम्म सडक अवरुद्ध भएको थियो । स्थानीयबासी सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएछि सयौको सवारी साधन सडकमा रोकिएको थियो । सडक अवरुद्ध हुँदा हजारौं यात्रुहरू सडकमा अलपत्र परी सास्ती खेप्न बाध्य भएका थिए ।
दुइघण्टापछि विधुत सुचारु गर्ने आश्वासन दिएपछि सडक अवरुद्ध खोलेपनि साँझसम्म विधुत सुचारु नभएको स्थानीय ब्यापारी संतोष साहले बताए । प्रतिबद्धता कार्यान्वयन नभएकोले पुन: सडक अवरुद्धसहितका संघर्षका कार्यक्रम गर्ने बारे छलफलका लागि बसिरहेको उनले जानकारी दिए ।
गत सोमबार आएको हावाहुरीले ठाउँ- ठाउँमा विधुत पोल भाँच्चिएपछि रुपनी गाउँपालिका ६ स्थित रहेको विरेन्द्र बजार, जगमोहन, नयाँबस्ती, भटनियाँ, तेरहौता, दुधैला गरी १० वटा भन्दाबढी स्थानमा ३ दिनदेखि विधुत अवरुद्ध भएको छ ।
विधुत अवरुद्ध हुँदा बालबालिका, बृद्वबृद्वा, विरामी, व्यपारी व्यवसायी बढी प्रभावित भएका छन् । उक्त क्षेत्रमा विधुत प्राधिकरण रुपनी वितरण केन्द्रबाट विधुत प्रवाह हुँदै आएको थियो ।