न्यूज टुडे
राजविराज, १९ जेठ ।
नेपाल पत्रकार महासंघलाई २७ औं केन्द्रीय महाधिवेशनका लागि अन्तिम नामावलीको सुची प्रकाशित गर्न महासंघ आवद्ध विभिन्न ६ संगठनले माग गरेको छ । प्रेस चौतारी, प्रेस सेन्टर,समाजवादी प्रेस संगठन लगायत ६ संगठनले शनिबार संयुक्त प्रेस वक्तव्य जारी गरेर सदस्यको आधिकारिक सुची सार्वजनिक गर्न पत्रकार महासंघको ध्यानकर्षण गराएको हो ।

वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति ६ संगठनले आपत्ति जनाएका छन्।
जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरिएपनि अहिलेसम्म सदस्यता विवाद टुंगिएको छैन।
‘सदस्यहरूको अद्यावधिक नामावलीको सूची नबुझाइएकै कारण हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशित हुन सकेको छैन” संयुक्त वक्तव्यमा भनिएको छ, “हामी देहायका संगठनहरू नेपाल पत्रकार महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा निर्वाचन सम्पन्न गर्न केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोमा ख्रेद व्यक्त गछौं।’
तोकिएकै समयमा निर्वाचनको वातावरण बनाउँन माग गर्दै नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन समेत ६ संगठनद्वार जारी संयुक्त प्रेस विज्ञप्तिमा माग गरिएको छ l