न्यूज टुडे
राजविराज, १९ जेठ ।
प्रहरी नायव उपरीक्षक(डिएसपी) महेन्द्र नेपालले अपराध नियन्त्रणमा प्रहरी र पत्रकार वीच सहकार्य हुनु अपरिहार्य रहेको बताएका छन् । ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको प्रमुखको रुपमा सरुवा भई आएका डिएसपी नेपालले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो आबश्यकताऔल्याएका हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरमा भएको पत्रकार भेटघाट कार्यक्रम बोल्दै डिएसपी नेपालले शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा प्रहरी र पत्रकार दुबैको उस्तै भुमिका रहेको बताए । उनले कुनैपनि अपराध अनुसन्धानमा प्रहरी र पत्रकार संगसंगै आ- आफ्नो क्षेत्रबाट लाग्दा अपराधी उम्कन नपाउने बताए ।

“प्रहरी र पत्रकारको उदेश्य एउटै हो, राष्ट्रको सेवा गर्ने, समाजमा शान्ति सुरक्षाको प्रत्याभूत गराउने, बास्ताविक पीडितको पहिचान गरी न्यायको पक्षमा वकालत गर्ने र अपराधीक घटनालाई नियन्त्रण गर्ने नै हो”, डिएसपी नेपालले भने, ” पत्रकार, पुलिस एक आपसमा सहयोगी हुन्, दुबैको सकारात्मक प्रयासले नै अपरधिक घटनालाई न्यूनीकरण गर्न सकिने भएकोले अपराध नियन्त्रणका लागि पत्रकार र प्रहरी वीच सहकार्य अपरिहार्य छ ।”
पत्रकार र प्रहरीको सामुहिक प्रयासबाट अपराधीलाई कानुनी दायरमा ल्याउन सकिने भएकोले एक अर्काको वीच सहकार्य हुनुपर्नेमा उनको जोड दिए । उनले शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणको सवालमा पत्रकारहरुसंग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
पत्रकारलाई सूचना दिँदा अपराध अनुसन्धानमा थप बलपुग्ने भएको बताउँदै डिएसपी नेपालले प्रहरीले दिनमिल्ने सूचनामा कन्जुस्याइँ नगर्ने तथा त्यसले प्रहरीलाई नै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बालुवा,गिट्टीसहित अबैध बन पैदावार निकासी रोक्ने, लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिने, वास्तविक पीडित पहिचान गरी न्याय दिने, अबैध चोरी तस्करी तथा अपराध नियन्त्रणमा कसैगंग सम्झौता नहुने उनले जिकिर गरे ।
पत्रकारहरुको सम्मान, सूचना र सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले कुनैपनि घटना तथा विषय बस्तुको सूचना आदानप्रदान र प्रहरीले संचालन गरेको अपराधीक क्रियाकलाप रोक्ने जनचेतनामूलक कार्यक्रममा पत्रकारहरुलाई सहभागी भइदिन र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे ।
उनले सिमित जनशक्ति,श्रोत साधन र उपकरण अभावको बाबजुद पनि जनताको शान्ति सुरक्षा र अपराध नियन्त्रणको कार्यमा कमि हुन नदिएको बताए ।
“अहिले हामीसंग ७० प्रतिशत मात्र जनशक्ति उपलब्ध छ, सिसिटीभीको अबस्थामा पनि उस्तै छ, सवारी साधन पनि प्रयाप्त र भरपर्दो छैन”, डिएसपी नेपालले भने, अभावको विचमा काम गर्न असहज हुन्छ नै, उपलब्ध श्रोत साधन र जनशक्ति उपयोग गरी अपराध न्यूनीकरण गर्ने कार्यमा इमानदार पुर्वक लागिपरेको छौँ ।”
उक्त अवसारमा बन पैदावरको अबैध निकासी, घरेलु हिंसा, खुलेयाम भइरहेको यौनधन्दा, लागुऔषधको ओसारपसार तथा प्रयोगकर्ताको विगविगी, पत्रकारीता भन्दा प्रचारकारिता गर्ने गैर पत्रकारमाथि निगरानी, अबैध हातहतियारको दुरुपयोग, चोरी डकैती, सडक दुर्घटना जस्ता क्रियाकलाप नियन्त्रणमा प्रहरीले सक्रियता बढाउनु पर्ने सहभागी पत्रकारहरुले सुझाव दिए ।
कार्यक्रममा प्रहरी निरीक्षक अबध कुमार ओझा, पत्रकार भोला पासवान, डम्बर राई, बृजमान तामाङ, राजकुमार पासवान, अनिल पोखरेल, गंगा साह, आनन्दमोहन शर्मा ( राजु,) किशोर पासवान, मनु पासवानलगायतका स्थानीय पत्रकारहरुको सहभागी रहेको थियो ।
डिएसपी नेपाल २०८० चैत १८ गते प्रहरी केन्द्रिय कार्यालय टंगाल काठमाडौबाट सरुवा भइ इलाका प्रहरी कार्यालय कंचनपुरको प्रमुखको रुपमा कार्यरत छन् ।
डिएसपी नेपाल इलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा आएको केही दिनमै नेपाल बैंक फत्तेपुरमा बैक गार्डको कार्यकक्षमै हत्या भएको थियो । उनको सक्रियतामा घटनाको हप्तादिन नपुग्दै बैक सुरक्षागार्ड हत्यामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएका थिए ।