न्यूज टुडे
राजविराज, १७ जेठ ।
पुर्वपश्चिम राजमार्गको कंचनपुर- कमला सडक योजनाको निर्माण कार्य सुस्त गतिमा अगाडि बढ्दा सर्वसाधारणलाई सास्ती भएको छ । लामो समयदेखि सडक भत्काएर छोड्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुने गरेको हो ।
सडक निर्माण कार्यले तिब्रता नलिंदा सडक आसपासका बासिन्दाहरु हिउँदमा धुलो र बर्षामा हिलोको मारमा पर्ने गरेको साविक सितापुर गाविसका अध्यक्ष वसन्त चौधरीले बताए ।
सडक निर्माणले पुर्णता नपाउँदा सवारी साधन आवतजावत समस्या हुने गरेको उनले जानकारी दिए । सडकका कारण सडक आसपासका बासिन्दा मारमा परेका छन् नै सार्वजनिक तथा निजि सवारी साधनमा यात्रा गर्नेहरुले झनै ठूलो सास्ती खेप्नु परेको उनले बताए ।
सडक निर्माणको कार्य ४ बर्ष अगाडिदेखि सुरु गरिएपनि अहिलेसम्म ५० प्रतिशत काम पनि हुन नसकेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
कंचनपुर- कमला सडक योजनाको ठेक्का चाईना रेल्वे नम्बर २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले लिएका छन् भने परामर्शदाता कुनुवाहा इन्जिनियरिङ्ग कनसल्टेसिङ्ग प्रालि. (साउथ कोरिया) इन ज्वाइन्ट इन्टरमेन्ट विसिएल एसोसिएसन ( बंगलादेश) र एसोसिएसन विट प्रालि. नेपाल रहेको छ ।
सडक निर्माणको कार्यको थालनी २०२० अक्टोबर २९ देखि शुरु भई२०२३ अक्टोबर २८सम्म सक्नुपर्ने भएपनि समयमा काम सम्पन्न नभएपछि पुन: १४ महिना म्याद थप गरि २०२४ डिसेम्बर २८ सम्म पुर्याइएको सडक डिभिजन कार्यालय लहानका योजना शाखाका इन्जिनियर राजिव झाले जानकारी दिए ।
कंचनपुर- कमला सडक योजना पुर्वी खण्ड अन्तर्गत कंचनपुरदेखि कुसाहासम्मको ३९ . ४२ किमिको निर्माण कार्य ४९. ५ प्रतिशत तथा कुशाहा- कमला पश्चिम खण्डको ५० प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिए ।
सडक निर्माण कार्यको पुर्व तयारी ठेकेदार कम्पनीबाट धेरै भएको जानकारी गराकोले तोकिएकै सिमामा सडक निर्माण कार्य सम्पन्न हुने उनले बताए ।