जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्रजातान्त्रिक आन्दोलनमा सप्तरीका क्रान्तिकारी योध्दाको मार्गदर्शनकै आधारमा नौलो गणतन्त्र अघि बढ्ने कुरा बताएका छन् । मंगलबार काठमाण्डौंमा आयोजित नौलो गणतन्त्र आन्दोलन उद्घोष सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनमत पार्टीद्वारा काठमाडौमा आयोजित नौलो गणतन्त्र घोषणा कार्यक्रममा उपस्थित जनसागर । फोटो : न्यूज टुडे
सप्तरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य समेत रहेका राउतले सप्तरीका प्रथम गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंह,संघीयताका जनक गजेन्द्र नारायण सिंह लगायत २००७ सालको क्रान्ति अघि हनुमाननगर जेल ब्रेकका योध्दाको योगदानको स्मरण गर्दै त्यसकै परिधिमा नौलो गणतन्त्रको आन्दोलन पनि अघि बढ्ने उद्घोष गरे ।
अत्यधिक गर्मीमा टाढाटाढाबाट भोकप्यासको पर्वाह नगरी काठमाण्डौंको कार्यक्रममा सहभागिता जनाउन पुगेका जनताको अटल साहस र समर्पणको सम्मान गर्दै उनले यस प्रकारको सहभागिताले उत्पीडित,उपेक्षित जनता अझै पनि जागरुक छन् भन्ने सन्देश प्रवाह भएको उनको भनाई थियो । मुलुकमा बेरोजगारीको चरम अभाव रहेका कारण गत वर्ष मात्र आठ लाख नेपाली रोजगारीकालागि विदेशिएको उनले बताए ।
“हामीले आफूलाई जीवीत प्राणीका रुपमा प्रमाणित गर्न यो सहभागिताले मद्दत पुर्याउने छ”,उनले भने,”हामीलाई हार्ने र थाक्ने विकल्प छैन ।”
रोजगारीको ग्यारेण्टी नभएसम्म आन्दोलनको विकल्प नरहने उनको कथन थियो । मधेशी सहिद रामकृष्ण राउतका जेष्ठ पुत्र राजकुमार राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीकी सचिव तथा पूर्व मन्त्री अनितादेवी साहले स्वागत गरेकी थिईन् । कार्यक्रममा पार्टीका सचिव भूपेन्द्रप्रसाद यादव,पूर्व राज्य मन्त्री सञ्जय यादव,प्रवक्ता डा. शरतसिंह यादव लगायतले पनि सम्बोधन गरेका थिए ।