न्यूज टुडे
राजविराज, १५ जेठ ।
नेपाल पत्रकार महासंघको सदस्यता विवाद हल नभएसम्म महासंघको केन्द्रिय कार्यालयसहित विभिन्न शाखामा भइरहेको तालाबन्दी जारी राख्ने तीन संगठनले प्रतिबद्धता व्यक्त गरेको छ। समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल र प्रेस मञ्च नेपालका महासचिव अवधेश झाले मंगलबार साझा प्रतिबद्धता पत्र जारी गर्दै यस्तो अडान लिएका हुन् ।
तीन संगठनद्वारा जारी साझा प्रतिबद्धता पत्रमा महासंघको चुनाव अगाडि नै सदस्यता विवादमा उत्पन्न समस्या समाधान गर्न आग्रह गरिएको छ ।
“नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको म्याण्डेट अनुसार जेठ २६ गते तोकिएको निर्वाचन कार्यक्रमलाई यथावतमा सम्पन्न गर्न र त्यस अघि सदस्यता वितरणमा उत्पन्न भएको विवादलाई न्यायोचित तवरले हल गरियोस् भन्ने साझा मान्यताको आधारमा निम्न साझा प्रतिबद्धता व्यक्त गर्दछौं ।” तीन संगठनद्वारा जारी प्रतिबद्धता पत्रकारमा भनिएको छ ।
पत्रकार महासंघ नेपाली पत्रकारहरुको सर्वस्वीकार्य, साझा र समावेशी संस्था बन्नुपर्छ भन्ने विषयमा हामी प्रतिबद्ध छौ । त्यसका निम्ति महासंघको आगामी नेतृत्व चयन गर्ने सन्दर्भमा महासंघको विद्यमान संरचना येथेष्ट समावेशी तथा पहिचानमुखी हुन नसकेको विषयलाई दृष्टिगत गर्दै ती विषयलाई हल गर्ने प्रतिबद्धता व्यक्त गर्ने पक्ष, समुह वा संगठनसंग हामी सहकार्य गर्न तयार छौ, प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसैगरी सदस्यता शुद्धीकरणका नाममा पत्रकारिता गर्ने पत्रकारलाई सदस्य हुन बाट वन्चित गर्ने, तयार पारिएको मापदण्डको आफू खुशी व्याख्या गर्दै फरक विचार, सम्प्रदाय र समुदायका पत्रकार वा संगठनसंग प्रतिशोध साध्नेजस्ता कार्य तत्काल बन्द गरी सदस्यता विवाद शीघ्र हल गर्नुपर्छ । यस सन्दर्भमा महासंघको केन्द्रीय नेतृत्वका जिम्मेवार पदाधिकारी तथा सदस्य नै सन्तुष्ट हुन नसकेको, फरक- फरक बैठक एवम् छलफल भइरहेको कुराले पनि सदस्यता वितरणमा चरम लापरबाही भएको पुष्टि हुन्छ । ती विषय हल नभएसम्म महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा भइरहेको तालाबन्दी जारी राखिनेछ । समाजवादी प्रेस संगठन, प्रेस मञ्च नेपा र प्रगतिशील पत्रकार संघ नेपालद्वारा संयुक्त रुपमा जारी प्रतिबद्धता पत्रका भनिएको छ ।