नेपाल प्रेस युनियनले पत्रकार महासङ्घले सार्वजनिक गरेको सदस्यता सूची सच्याउन माग गरेको छ । युनियनका महासचिव दिलीप पौडेलले सोमबार एक प्रेस विज्ञाप्ति जारी गर्दै विधि, प्रक्रिया र विधान बमोजिम सदस्य सुची सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।
विधि, प्रक्रिया र विधान विपरीत सदस्यताको सुची सार्वजनिक गरेको विरुद्धमा केन्द्रिय कार्यालयमा तालाबन्दीसहित विरोध उत्रिएका पत्रकारहरु । फोटो : न्यूज टुडे
“महासंघको विधान अनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछ” नेपाल प्रेस युनियन केन्द्रिय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
महासंघका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सक्रिय पत्रकारहरूलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको जिकिर गरिएको छ ।
‘महासंघ विधान र महाधिवेशनको म्यान्डेट अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै सङ्गठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो’ विज्ञप्तिमा भनिएको छ ।
विधान, विधि र प्रक्रिया अनुसार महासंघका शाखाहरू र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न माग गर्दै युनियनले सदस्यता विवाद निरूपण नगरी निर्वाचन प्रक्रिया अघि बढाइए उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघनै हुने चेतावनी दिएको छ ।
यसैगरी सदस्यीयता सुची सच्याउन माग गर्दै समाजवादी प्रेस संगठन केन्द्रिय समितिले सोमबार पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ ।
सदस्यीय सुद्विकरणको नाममा सक्रिय पत्रकारहरुलाई पाखा लगाएर विधि प्रक्रिया मिच्ने कार्य गरेकोले अविलम्ब सदस्यता सुची सच्याउन माग गरे ।
यसैगरी पत्रकार महासंघले पछिल्लो समय सार्वजनिक गरेको सदस्यता सुची प्रति प्रेस मञ्च नेपालले समेत आपत्ति व्यक्त गरेका छन् ।
प्रेस मञ्च नेपालका महासचिव अवधेश कुमार झासहित मञ्च आबद्ध पत्रकारहरुको टोलीले केन्द्रिय कार्यालयमा तालाबन्दी सहित संघर्षमा उत्रिएका समाजवादी प्रेस संगठनका पदाधिकारीलाई भेटेर आन्दोलनमा समर्थन जनाएका हुन् ।
महासंघको साझा प्रक्रियालाई धुमिल्याउने किसमबाट सुची सार्वजनिक गरेको भन्दै उनले सहमति सहकार्यको बाटो विपरीत बलजफ्ती गर्ने खोजिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
महासंघको निर्वाचन यही जेठ २६ गतेका लागि तय गरिएको छ । सदस्यता विवादका कारण अहिलेसम्म निर्वाचन तालिका भने सार्वजनिक भएको छैन ।