• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी युथ नेपालद्वारा भलुवाही खोला सरसफाइ 

सप्तरी युथ नेपालद्वारा भलुवाही खोला सरसफाइ 
न्यूज टुडे
राजविराज, १२ जेठ । 
सप्तरी सदरमुकाम राजविराजमा अवस्थित भलुवाही खोला सरसफाइ गरिएको छ । सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिका र राजविराज युथ कम्युनिटीको सहकार्यमा शनिबारदेखि भलुवाही खोला सरसफाइ कार्य सुरु गरिएको हो । 
भलुवाही खोला सरसफाइमा जुटेका राजविराज नगरपालिकाकी कार्यबाहक मेयर परविनसहित युवाहरु । फोटो : न्यूज टुडे
सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने नाराकासाथ भलुवाही खोला पुर्ण सरसफाई गरेरै छाड्ने प्रतिबद्धताकासाथ सरसफाइ अभियान प्रारम्भ गरिएको सप्तरी युथ नेपालले जनाएको छ ।
समुदायलाई सफा, स्वास्थ, र वातावरणीय रूपमा सुधार गर्ने, वातावरणीय सुधार गरी सामुदायिक भावना मजबुत बनाउने, विभिन्न स्वास्थ्य समस्याहरू घटाउने, पर्यावरणीय सन्तुलन  कायम राख्न, र समुदायको समग्र जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वासकोसाथ गरिएको सरसफाइ अभियानमा जनप्रतिनिधि, राष्ट्रसेवाक कर्मचारीहरु, राजनीतिक दल, पत्रकार, नागरिक समाज तथा स्थानीय युवाहरूको समेत साथ पाएको सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले बताए ।
एक बर्ष भित्र भलुवाही खोला सरसफाइ तथा बृक्षरोपण समेत गर्ने अभियानमा सम्पुर्ण सप्तरीबासी तथा आम राजविराजबासीको सहयोग पाउने अपेक्षाका साथ अभियानलाई अगाडि बढाइएको उनले जानकारी दिए । 
भलुवाही खोला सरसफाइ अभियानको पहिलोदिन जनमत पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क)  बाट निर्वाचित प्रदेश सभा सदस्य सतिशकुमार सिंह, जसपा नेपालकी महाधिवेशन प्रतिनिधि एवम् राजबिराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, प्रमुख जिल्ला अधिकारी किरण थापा, माओवादी केन्द्रका युवा नेता एवम् राजविराज नगरपालिका वडा नम्बर  ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता जयनारायण मण्डल, नेकपा एमालेका  सप्तरी प्रवक्ता अखलेश कुमार झा , राजबिराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्ग, ओम शान्तिका भगवती दिदीसहितका उपस्थिति रहेको थियो । 
सरसफाइ अभियानलाई एक दशकदेखि निरन्तरता दिंदै आएका सप्तरी युथ नेपालले सप्तरी सदरमुकामको सम्पुर्ण ढलको फोहोर जम्मा हुने भलुवाही खोला यो सहित दोस्रो पटक सरसफाइ गरेको हो ।