न्यूज टुडे
राजविराज, ११ जेठ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि ईजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले भेटघाट भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार उनीहरु विच शिष्टाचार भेटघाट भएको हो ।
भेटमा शुभकामना आदानप्रदानपछि दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायत आपसी हित र
चासोका बिषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा उपराष्ट्रपति यादवले नेपाल र ईजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर दुई पक्षीय सम्बन्धन रही आएकोमा उल्लेख गरे ।
‘ईजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्’ उनले भने, ‘नेपाल–ईजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।’
उनले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुन आवश्यक रहेकोको जोड दिए ।
, ‘ईजरायल सरकारले नेपाली युवाहरु (खासगरी महिला) लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिन चाहन्छु ’ उनले भने ।
उपराष्ट्रपति यादवले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै
नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सँधै रहिआएको स्पष्ट पारे । ‘संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र ईजरायलबीच हुने गरेका आपसी सहयोगको प्रशंसा गर्दछु ’ उनले भने ।
उपराष्ट्रपति यादवले विपिन जोशीलाई छुटाउन ईजरायल सरकारको तर्फबाट पहल भइरहेको छ भन्ने विश्वास समेत व्यक्त गरे । उनले इजरायलको ७६औं स्वतन्त्रता दिवसको अवसरमा ईजरायली सरकार तथा ईजरायली जनतालाई हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गरे ।
नेपालका लागि ईजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले नेपाल र ईजरायलबीच विभिन्न क्षेत्रमा
समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौयता सुमधुर र प्रगाढ रहेको बताए ।
‘जहाँसम्म विपिन जोशीको रिहाईको विषय छ, त्यसका लागि ईजरायल सरकार हरसम्भव प्रयासरत छ’ उनले भने, ‘ईजरायलबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर विपिनको घरमै गई परिवारलाई भेट्ने कार्यक्रम पनि छ । ’