न्यूज टुडे
राजविराज,१० जेठ ।
विश्वशान्तिको कामना गर्दै सप्तरीसहित देशभर २५६८ औं बुद्ध जयन्ती मनाइएको छ । शान्तिको अग्रदूतका रुपमा विश्वमा परिचित भगवान बुद्धको २५६८ औँ जन्म जयन्तीको अवसरमा बिहीवार विहानैदेखी घर तथा गुम्बा, विहार, चैत्यमा पुजापाठ गरी बुद्धजयन्ती मनाइएको हो ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा भगवान बुद्धको पूजा, आराधना एवम् प्रवचन तथा शुभकामना आदानप्रदान गरी २५६८ औं बुद्ध जयन्ती मनाइएको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङले बताए ।
उनका अनुसार सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका २ स्थित रहेको त्रिरत्न गुम्बा, वडा नम्बर ६ स्थित रहेको रहेको गुम्बा, वडा नम्बर ४ स्थित प्रशवनीमा रहेको बौद्ध विहार गुम्बा, वडा नम्बर २ स्थित रहेको अग्नीसाईर गुम्बा, सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा रहेको साङ छोलिङ्ग गुम्बा, खडक नगरपालिका फुलबडियामा रहेको गुम्बालगायतका सप्तरीका विभिन्न गुम्बा, विहार तथा चैत्यमा विश्वशान्तिको कामना गरी तथा आफ्नो मनकामना पुरा हुने विश्वास राखी भगवान बुद्धको पुजा आराधना तथा प्रवचन, शान्ति पदयात्रा लगायतका कार्यक्रमहरुको आयोजना गरी भव्यताकोसाथ बुद्ध जयन्ती मनाइएको छ ।
बिहीबार विहानदेखी नै उच्च अहोदाका प्रतिष्ठित व्यक्तिहरुले एक-आपसमा सामाजिक संजाल मार्फत पनि शुभकामना साटसाट गरीरहेका छन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाईरहेको अध्यक्ष तामाङले जानकारी दिए ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले समेत आह्वान गरेको छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने र २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।