सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा बढेको जन आकर्षण देखेर विरोधीहरुको होसहवास उडेको बताएका छन् ।
नेकपा एस सप्तरीद्वारा राजविराज ९ स्थित मलेठमा बुधबार आयोजित अगुवा कार्यकर्ता भेला तथा बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा मन्चासिन पुर्व प्रधानमन्त्री नेपालसहित अतिथिगणहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एसको समाजवादी, अग्रगामी नीतिले देश विकास र समाज रुपान्तरण हुने निश्चित भएकोले पार्टीमा जनलहर बढ्दै गएको बताए ।
“अहिले गाउँटोलसम्म नेकपा एसमा आकर्षण बढेको छ”, मैथिली भाषामा बोलेका अध्यक्ष नेपालले भने, विभिन्न पार्टी परित्याग गरी एसमा प्रबेश गर्नेको लहरै चलेको छ । यसले गर्दा विरोधीहरुको होसहवास गुमेको छ । ”
मलेठमा आयोजित अगुवा कार्यकर्ता भेला तथा बृहत पार्टी प्रवेश कार्यक्रममा मन्चासिन अध्यक्ष नेपालसहित नेतागणहरु । फोटो : न्यूज टुडे
देशलाई अगाडि बढाउने राजनीतिक शक्ति नेकपा एस मात्र भएको कुरा जनताले बुझ्न थालेपछि पार्टी प्रवेशको लहर चलेको उनको भनाइ थियो ।
सामाजिक न्याय र समानताको लागि पार्टी स्थापना भएको बताउँदै पुर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष नेपालले जातीय, धार्मिक, साँस्कृतिक तथा सबै प्रकारको अन्याय, अत्याचार र विभेद तथा भेदभावको अन्त्य गर्दै सुशासनसहितको विकसित र समृद्ध देश बनाउनका लागि पार्टीले सामाजवादी नीति अवलम्बन गरेको उल्लेख गरे ।
उनले सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम र सुकुम्बासीलाई जग्गा तथा घरको व्यवस्था मिलाउने कार्यक्रम आफू २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा रहेको सरकारको उपप्रधानमन्त्री हुँदा ल्याएको कार्यक्रम भएको दाबी गरे ।
पार्टी स्थापनाको प्रमुख लक्ष्य देश र जनताको कल्याण गर्ने रहेको बताउँदै उनले लोकतान्त्रिक व्यवस्थामा कसैमाथि अन्याय हुन नहुने जिकिर गरे ।
नवप्रबेशी नेताकार्यकर्तालाई धन्यवाद दिदै नेता नेपालले सबैलाई काखपाखा नगरी उचित जिम्मेवारी र सम्मान प्रदान गर्ने आश्वासन समेत दिए ।
नेकपा एसका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साहले कसैको अपमान सहेर बर्तमान सत्ता गठबन्धनमा बस्न नसके बताए । उनले पार्टीलाई सम्मानजनक व्यवहार नगरिए बर्तम्मान संघ सरकारको गठबन्धनबाट निस्क्ने चेतावनी समेत दिए ।
उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहरियालाई सरकारले गरेको गिरफ्तारप्रति आपत्ति व्यक्त गरे ।
उनले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारहरुमाथि सरकारले गरेको अन्यायपुर्ण व्यवहारले प्रेस स्वतन्त्र र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उब्जाएको टिप्पणी गरे । सिरोहियामाथि सरकारले अन्याय गरेको भन्दै उनलाई निसर्त रिहाइ गर्नुपर्ने साहको जोड थियो ।
नेकपा एसका सचिवालय सदस्य एवम् पुर्व मन्त्री रामचन्द्र झाले बर्तमान प्रचण्ड नेतृत्वको सरकार निरङ्कुश बन्दै गएको टिप्पणी गर्दै लोकतन्त्रको रक्षाका लागि सबै उत्पीडित, शोषित र अन्यायमा परेका शक्तिहरु गोलबद्व हुनुपर्नेमा जोड दिए ।
नेकपा एस सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने, नेता रामचन्द्र यादव, केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सह-इन्चार्ज उषा पोखरेल, केन्द्रिय सदस्य नथुनी दास, निरनजन झा,मधेश प्रदेशका सह सचिब नारायण आचार्य, सिरहा जिल्ला अध्यक्ष उत्तर बहादुर मगरलगायतका प्रदेश, जिल्ला, क्षेत्रलगायतका विभिन्न तहका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
जिल्ला सचिव शम्भु यादवद्वारा संचालित कार्यक्रममा स्वागत जयप्रकाश यादवले गरे । उक्त कार्यक्रममा एमाले, लोसपा र जनमत पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता नेकपा एसमा प्रवेश गरेका थिए ।