• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बैंक गार्डको हत्यामा प्रहरी अनुसन्धान फितलो,अझै हत्यारा पक्राउ गर्न सकेन

बैंक गार्डको हत्यामा प्रहरी अनुसन्धान फितलो,अझै हत्यारा पक्राउ गर्न सकेन
न्यूज टुडे
राजविराज, ३० बैशाख ।
सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडका सुरक्षागार्ड पर्शुराम फुयालको हत्या घटनामा प्रहरी अनुसन्धान फितलो देखिएको छ । प्रहरीले सक्रियता नदेखाउँदा अझै हत्यामा संलग्न व्यक्ति पक्राउ पर्न नसकेको हो ।  
प्रहरीले अपराधीको खोजतलास जारी राखेपनि हालसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेले बताए । 
“बैंक सुरक्षागार्ड फुयालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, डिएसपी नेउपानेले भने, प्रहरीले हत्यामा संलग्न व्यक्तिको खोजतलास गरिरहेको छ, तर हालसम्म घटनामा संलग्न व्यक्ति पक्राउ परेको छैन । ” 
घटनामा संलग्न कोहि शंकास्पद वा आरोपित व्यक्ति पक्राउ परेको भन्ने बारे बुझ्दा उनले  अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको तथा हत्यामा संलग्न भएको व्यक्ति पक्राउ पर्नसाथ जानकारी गाराउने बताए । 
शनिबार मधेश प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले विच बजारमा डिउटीमा रहेका बैंक सुरक्षागार्डको हत्याको घटना दु:खद रहेको तथा चिन्ताजनक घटना भएको भन्दै  हत्यामा संलग्न व्यक्तिको छिटो पहिचान गरी नियन्त्रणमा लिएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए । सप्तरीमा यस्ता प्राकृतिको घटनाहरु धैरै हुने गरेपनि प्रहरी भने संलग्न व्यक्तिलाई पक्राउ गर्न असफल भएका छन् ।
यता हत्यामा संलग्न एक शंकास्पद ब्यक्ति पक्राउ परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । 
“घटनामा संलग्न एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, डिएसपी नेपालले भने, अनुसन्धानकै क्रममा छ, एक-दुईदिन भित्र पक्राउ परेका व्यक्तिको पुर्ण विवरण सार्वजनिक गर्छौ । “
श्रोतका अनुसार हत्या आरोपमा सप्तकोशी नगरपालिका–५, गंगाजली घर भएका ३१ वर्षीय चन्द्रबहादुर सुवेदी पक्राउ परेको छ। प्रहरीले उनलाई शनिवार साँझ चितवनबाट पक्राउ गरी ल्याएको बताइएको छ । सशस्त्र प्रहरीको जवान समेत रहेका सुवेदी विगत एक वर्षदेखि ‘छुट्टिमा छु’ भन्दै घरमै बस्ने गरेको स्थानीयले जनाएका छन् ।
सप्तकोशी नगरपालिका–२, सिद्धिपुरका ५६ वर्षीय फुयाँल बिहीबार विहान बैंकमै मृत फेला परेका थिए। उनको खुकुरी प्रहार गरी हत्या गरिएको सप्तरी प्रहरीले जनाएको छ। नेपाली सेनाबाट सेवा निवृत्त भएपछि विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्ड रहेका उनको जिउमा खुकुरी प्रहार गरेको चोट र शवको वरिपरी रगतका टाटा फेला परेको थियो। उनी नेपाल बैक लिमिटेड फत्तेपुरको सुरक्षागार्ड गार्डको कोठामा मृत अवस्थामा फेला परेका थिए।
 लुटपाट गर्ने उद्देश्यले उनको हत्या भएको देखिएको प्रहरीले बताएका छन् ।  बैंकको सीसीटीभी फुटेज हेर्दा राति करिब १२ बजेपछि नकावधारी एक जना ब्यक्ति बैंकभित्र पसेर हत्या गरेको देखिएको थियो। फुयालको लुटेरासँग निकैबेर मुडभेड भएको फुटेजमा देखिएको बैंकले जनाईएको छ। हत्या गरी बैंकबाट चोरी गर्ने प्रयास भने सफल नभएको जनाएको छ।
घटना लगत्तै घटना स्थलमा तालिमप्राप्त कुकुर ल्याइ अनुसन्धान अगाडि बढाइएको थियो। मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन्। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए।