न्यूज टुडे
राजविराज,११ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टी एमाले रुपनी गाउँपालिका सचिब रञ्जित भगतले साधारण सदस्य समेत नरहेको गरि पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक संजालमा शुक्रबार राजिनामा पत्र सार्वजनिक गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
जिल्ला अध्यक्ष ताराकान्त चौधरीलाई सम्बोधन गरिएको राजिनामा पत्रमा पूर्ण रुपमा पार्टी परित्याग गरेको बताइएको छ ।
‘आज म एक गम्भीर र सोच-विचार गरेर लिएको निर्णय सार्वजनिक गर्दैछु—म नेकपा (एमाले) को गाउँकमिटी सचिव पद सहित पार्टीको साधारण सदस्यताबाट पनि पूर्ण रूपमा अलग हुने घोषणा गर्दछु।’उनले राजिनामा पत्रमा उल्लेख गरेका छन्,’यो निर्णय कुनै क्षणिक भावनामा होइन, बरु लामो समयको अनुभव, संघर्ष र आत्ममन्थनको परिणाम हो’ उनले थपेका छन् :-‘मैले यो पार्टीलाई केवल संगठन होइन, एउटा विचार, एउटा आशा र परिवर्तनको माध्यम ठानेर आफ्नो समय, श्रम र प्रतिबद्धता दिएको हुँ।’
उनले पार्टीमा देखिएको प्रवृत्तिले गहिरो चोट पुर्याएको उल्लेख गर्दै उनले पार्टीबाट अलग हुने निर्णयमा पुगेको बताएका छन् ।
‘दुर्भाग्यवश, पछिल्ला दिनहरूमा पार्टीभित्र देखिएको प्रवृत्तिले मलाई गहिरो निराश बनाएको छ’ जब नेतृत्व विचारभन्दा माथि बस्न थाल्छ, जब योग्यताको सट्टा नजिकियतले स्थान पाउँछ, जब इमान्दार कार्यकर्ताको आवाज दबाइन्छ—त्यो अवस्थामा मौन बस्नु मेरो लागि सम्भव भएन’ उनले राजिनामा पत्रमा उल्लेख गरेका छन्, “पार्टीले आफ्नो मूल सिद्धान्त, पारदर्शिता र उत्तरदायित्वबाट टाढा जाँदै गरेको महसुस मैले बारम्बार गरें ।’
‘म स्पष्ट भन्न चाहन्छु—पार्टीप्रति होइन, गलत प्रवृत्तिप्रति मेरो असहमति हो। तर जब सुधारको सम्भावना नै संकुचित हुन्छ, तब अलग हुनु नै सही बाटो हुन्छ।’ उनले राजिनामा पत्रमा लेखेका छन् ।
मैले यहाँ सिकेका अनुभव, साथ दिएका साथीहरू र विश्वास गर्ने जनताप्रति म सदैव आभारी रहनेछु। तर अब मेरो बाटो फरक हुनेछ—सिद्धान्त, इमान्दारिता र जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै उनले ‘म तपाईंहरू सबैलाई आग्रह गर्दछु—व्यक्तिभन्दा माथि विचारलाई राखौं, र सत्ताभन्दा माथि सत्यलाई।’उनले बुझाएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर -०६ तेरहौता,बिरेन्द्र बजार निवासी भगत एमालेको विभिन्न समितिमा बसेर सक्रिय राजनीति गर्दै आएका थिए ।