न्यूज टुडे
राजविराज, २८ बैशाख ।
सप्तरीको राजविराज नगरपालिका २ मा गजेन्द्र स्मारक सामुदायिक भवन तथा संग्रहालय निर्माण हुने भएको छ । साठी लाख बीस हजार छ सय सड्चालिस रुपैयाँको लागतमा निर्माण हुने गजेन्द्र स्मारक सामुदायिक भवन तथा संग्रहालयको शुक्रबार शिलान्यास गरिएको हो ।
मधेश प्रदेशका पूर्व शिक्षा तथा सांस्कृतिक मन्त्री महेश प्रसाद यादव , अर्थ तथा योजना आयोगका सभापति सतिश कुमार सिंह, राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन र वडा अध्यक्ष अरुण कुमार यादवले गजेन्द्र स्मारक सामुदायिक भवन र संग्रहालयको संयुक्त रूपमा शिलान्यास गरे ।
राजविराज नगरपालिका वडा नम्बर-२ मा निर्माण हुने उक्त भवन तथा संग्रहालय २०८१ असार १४ गतेसम्म काम सक्ने योजना रहेको छ ।
नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी, नेपाल र श्री कृति विल्डर्स, राजविराज-१५, सप्तरी विच २०८१ बैशाख १६ गतेदेखि सुरु गरी २०८१ असार १४ गते काम सम्पन्न गर्ने सम्झौता भएको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवम् मधेसवादका प्रबर्दक स्वर्गीय गजेन्द्रनारायण सिंहको स्मृतिमा निर्माण गरिने स्मारक सामुदायिक भवन तथा संग्रहालय निर्माणका लागि ६० लाख २० हजार ६ सय ४७ रुपियाँ ९२ पैसा बजेट विनियोजन भएको जनाइएको छ ।