चौविस घण्टा अगाडि भएको भीषण आगलागीले गाउँनै स्वाहा भएपछि सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीका ६५ परिवार अग्नीपीडितहरु विचल्लीमा छन् । मंगलबार अपरान्ह लागेको आगोले ६५ परिवारका १ सय १४ घर खरानी भएपछि अहिले उनीहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका हुन् ।
रातभरी आगो निभाउननै व्यस्त रहेका चिम्टी बासीले नसुतेरै रात विताए । बुधबार विहान राहत स्वरुप आएको चिउरा भुजा फाँकेर बस्नु परेको पीडित मध्यका दुर्गा प्रसाद यादवले बताए ।
” आगोले सबै सखप तुल्याएको छ” उनले भने ” केही उपाय नचलेपछी पल्लो टोलबाट त्रिपाल मागेर जाहान बालबच्चालाई राखेका छौँ ।”
यस्तै पीडा अग्नीपीडित ७५ बर्षिय दुखनी देवि यादवको पनि छ, बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछी खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएकी उनले भनिन् “६ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौती आएको छ ।”
आगो लागेर दुइदिन वित्न लाग्दा समेत दुईचार केजी चिउरा मुरही बाहेक केहि नपाएको उनको भनाइ छ ।
” भएको श्रीसम्पति अन्नपात स्वाहा भयो” उनले भनिन, ” यसैगरी कतिदिन टर्ला ?”
वडा अध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहत स्वरुप मंगलबार बेलुकानै चाउचाउ, मुरही, चिरारा, पानी अग्नी पीडितहरुलाई वितरण गरिएको जानकारी दिएका छन् ।
प्रशासन लगायत अन्य क्षेत्रबाट समेत राहात नआउँदा स्थानीय युवाहरुकै सक्रियतामा अग्नीपीडितहरुलाई खाना खुवाउने प्रबन्ध मिलाएको बताए ।
बुधबार अपरान्ह जनता समाजवादी पार्टी सप्तरीले अग्नीपिडितहरुको लागि राहत वितरणको तयारी गरेको छ । आगलागीमा परेका प्रति परिवारलाई १ मन चामलल, १० किलो आलु, खानेतेल, नुन, पानी, दुई थान छाता वितरणको तयारी भइरहेको जसपाका युवा नेता लक्ष्मण यादवले जानकारी दिएका छन् ।
उक्त बस्तीमा मंगलबार दिउँसाे २ बजेदेखि सुरु भएको आगलागीमा परी करोडौं क्षति भएको थियो ।