• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तराई -मधेसका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइयो जुडशीतल पर्व

तराई -मधेसका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइयो जुडशीतल पर्व
न्यूज टुडे
राजविराज, २ बैशाख । 
सप्तरी लगायत तराई- मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक आइतबार जुडशीतल अर्थात् सिरुवा पर्व मनाइएको छ। थारु तथा मधेशी समुदायले धार्मिक विधि अनुसार श्रद्धाभक्तीपुर्वक जुडशीतल अर्थात सिरुवा पर्व मनाएको हो ।
आफूभन्दा जेठा व्यक्तिले सानालाई टाउकोमा पानी छर्किंदै आशीर्वाद दिएर जुडशितल पर्व मनाइन्छ। ठाउँ अनुसार यसलाई जुडशितल/ सिरुवा भन्ने गरिन्छ ।
वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै सानालाई आशीर्वाद दिने र सानाले पनि मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहेको थारु कल्याण कारिणी सभाकी केन्द्रिय सदस्य सावित्री चौधरीले बताइन् ।  
“यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । जुडशितल पर्वमा एक दिनअघि पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ, उनले भनिन्, तराईका घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, बरी, तरुवा,लगायतको भोजन बनाएर खाने परम्परा रहेको छ ।”
जुडशीतल पर्वलाई वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ । शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू समेत नलाग्ने विश्वास रहदै आएको थारु साँस्कृतिक अभियानता गयानन्द चौधरीले बताए । गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको चिकित्सकहरुको भनाइ छ ।
यता मधेश प्रदेश सरकारले जुडशितलको अवसरमा सार्वजानिक बिदा दिएको छ । आइतबार यहाँका सार्वजानिक संस्था, शैक्षिकसंस्था लगायतका अर्ध सरकारी कार्यालयहरुमा सार्वजनिक विदा  रहेका छन् ।
उक्त अवसरमा तराई -मधेश विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने र पुजापाठ गर्ने प्रचलन रहेको छ ।