राजविराज, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पूजा अर्चना गरेका छन् । राष्ट्रपतिलाई छिन्नमस्ता गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले स्वागत अभिनन्दन गरेका थिए ।
छिन्नमस्ता मन्दिर दर्शनका लागि सप्तरी आएका राष्ट्रपति पौडेल । फोटो : न्यूज टुडे
छिन्नमस्ता भगवतीको विशेष पूजामा सरिक भएका राष्ट्रपति पौडेलको स्वागतका लागि प्रतिनिधिसभा सदस्यद्वय दिनेश कुमार यादव, तेजुलाल चौधरी, प्रदेश सांसद निलम देवी रजक, जिल्ला समन्वय समिति तथा विभिन्न पालिकाका प्रमुख उपप्रमुख्हरु,प्रमुख जिल्ला अधिकारी किरण थापा, गाउँपालिकाका उपाध्यक्ष राजुदेवी यादव, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, मूल पुजारी महाकान्त ठाकुर, सुरक्षा निकायका प्रमुखका साथै जिल्ला स्थित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु गरि ठूलो संख्यामा सर्वसाधारण उपस्थित थिए ।
राष्ट्रपति भएपछि पहिलो पटक छिन्नमस्ता भगवती मन्दिर दर्शन र पूजापाठका लागि आउँदा खुशी लागेको पौडेलले बताए । उनले सप्तरीमा स्वास्थ्यसेवा सुधारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।
प्रजातन्त्र र जन अधिकारका लागि सप्तरीले विगतमा पनि ठूलो योगदान पुर्याएको स्मरणका साथ उनले विकासमा चाहि यो जिल्ला पछाडी परेको भन्दै यहाँको विकासका लागि सरकार समक्ष कुरा राख्ने बताए । उनले भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरीकै हनुमाननगर जेलमा बन्दी बनाइएका भारतीय समाजवादी नेता डा. राम मनोहर लौहिया, जय प्रकाश नारायणलाई सप्तरीकै क्रान्तिकारी युवाहरुले जेल मुक्त गराएको स्मरण सुनाए ।
मन्दिर नजिकै बनाइएको हेलिप्याडबाट उत्रेर सोझै मन्दिर प्रवेश गरेका राष्ट्रपति पूजापाठपछि मन्दिर परिसरमै बनाइएको मञ्चमा पुगेर नागरिकहरुको स्वागत ग्रहण गरेका थिए । उनलाई गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले मिथिलाको पाग र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रम संचालन पत्रकार जितेन्द्र कुमार झा जितुले गरेको थियो ।