न्यूज टुडे
राजविराज, २६ चैत ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले बोलाएको कार्यपालिका बैठकलाई कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । अध्यक्ष चौधरीको सर्वसत्तावादी र स्वेच्छाचारी निर्णय विरुद्ध उभिएका कार्यपालिका सदस्यहरुले वडा नम्बर १ स्थित तपेश्वरी बजारमा अवस्थित अध्यक्ष चौधरीको सम्पर्क कार्यालयमा सोमबार बोलाइएको बैठक बहिष्कार गरेका हुन् ।
कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि कोरम नपुगेकाले अध्यक्ष चौधरीले बोलाएको कार्यपालिका बैठक स्थगित भएको छ ।
कार्यपालिका सदस्यहरु अनुपस्थित भई गणपुरक संख्या पुग्न नसकेकोले बैठक स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले जानकारी दिए ।
“निर्धारित समयमै बैठक सुरु गर्ने भनेको थियौ, तर कार्यपालिका सदस्यहरु उपस्थित हुनुभएन, उनले भने, गणपुरक संख्या नपुग्दा बैठक स्थगित भयो। “
उनका अनुसार १४ जना कार्यपालिका सदस्य मध्ये गापा अध्यक्ष र वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष हरि खंगमात्र बैठकमा उपस्थिति भएका थिए ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले गाउँपालिकामा ठाउँ हुदाहुदै अध्यक्षले आफुखुशी आफ्नो सम्पर्क कार्यालयमा बैठक बोलाएकोले बहिष्कार गरेको बताइन् । जनताको भावना विपरीत अध्यक्षले बलजफ्ती गर्नु खोजेकाले विरोध स्वरुप बैठक बहिष्कार गरेको उनले जानकारी दिइन् ।
“गाउँपालिका कार्यालयमा बैठक बोलाएको भए हामी सबैजना सहभागी हुनेथियौं, उनले भनिन्, जनभावना विपरीत बोलाएको बैठकमा कसरी सहभागी हुनु र जस्तैजुकै परिस्थितिको सामाना गर्न परे पनि हामी जनताको पक्षमा सधै उभिनै रहन्छौं ।”
वडा नम्बर ४ का वडा अध्यक्ष तेज नारायण यादवले बैठकको निर्णय कार्यान्वयन गर्न अध्यक्ष चौधरी पछाडि सर्ने गरेकोले त्यस्तो बैठकको औचित्यता नहुने हुँदा बहिष्कार गर्नुपरेको बताए । उनले यसअघि सोही स्थानमा फागुन १५ गते बसेको बैठकको निर्णय कार्यान्वयन गर्न गाउँपालिका अध्यक्ष तयार नभएसम्म उनले बोलाएको बैठकमा सहभागी नहुने जिकिर गरे ।
वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरीले विना एजेन्डाको कसैसँग सरसल्लाह नगरी नै गापा अध्यक्षको एकल निर्णयले बैठक बोलाएकोले बहिष्कार गरेको बताए ।
वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले गाउँपालिका कार्यालय बहिर बैठक बोलाएकोले बैठक बहिष्कार गरेको बताए । उनले गाउँपालिका भन्दा बहिर बस्ने बैठकमा आफुपनि सहभागी नहुने तथा आफू निकटका कार्यपालिका सदस्यहरुलाई पनि सहभागी नहुन आग्रह गरेको बताए ।
गाउँपालिका अध्यक्षले आइतबार समसामयिक विषयमा छलफल गर्नुपर्ने हुँदा वडा नम्बर १ स्थित तपेश्वरी बजारमा अवस्थित सम्पर्क कार्यालयमा सोमबार १ बजे बैठकमा उपस्थितिका लागि कार्यपालिका सदस्यहरुलाई पत्राचार गरेका थिए ।

गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले गत माघ २८ गते गाउँपालिकाको कार्यपालिका बैठकबाट रोक्का राख्ने निर्णय भएको इटहर्वा बजार सितापुर कलौनीको साविक सितापुर गाविस वडा नम्बर ७ (क) किनं. ६५५ को क्षेत्रफल ०१-०२-१७ (बिघा) जग्गाको घरबाटो सिफारिस तथा रोक्का फुकुवा सिफारिस मालपोत कार्यालयलाई दिएपछि जनप्रतिनिधिहरु विचमा नै विवाद सिर्जना हुँदै अएको छ ।
वडा अध्यक्षको अधिकारलाई हरण गर्दै स्थानीय सरकारको सर्वोच्च निकाय कार्यपालिकाको निर्णयकै अवमूल्यन गरि स्वेच्छाचारी निर्णयबाट जग्गा रोक्का सिफारिस गरि सार्वजनिक सम्पत्ति व्यक्तिको नाउँमा पास गर्न सघाएकोले अध्यक्ष चौधरी एकातिर बाँकी जनप्रतिनिधि र जनता एकातिर गरि दुइधारमा छन् ।
त्यस पश्चात् आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न बाँकी जनप्रतिनिधिहरुको प्रयासमा भएको २०८० फागुन १५ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार फागुन १६ गते भएको गाउँपालिका र आन्दोलनरत पक्ष विचको सम्झौता कार्यान्वयनमा अध्यक्ष चौधरी पछिहट्दै धोका दिई बजारको जग्गा व्यक्तिले हत्याएपछी थप जटिलता उत्पन्न भई अध्यक्ष र जनप्रतिनिधि विचको दुरि थप टाढा भएको कार्यपालिका सदस्य श्रीकुमारी चौधरीले जानकारी दिइन् ।
आन्दोलनरत पक्षसंग भएको सम्झौता अनुसार गाउँपालिकाद्वारा चैत २४ गते आयोजित बैठकमा गाउँपालिका अध्यक्ष अनुपस्थित भएपछि गाउँपालिका अध्यक्ष चौधरीप्रति जनप्रतिनिधिहरु थप आक्रोशित भएका छन् ।
भु- माफियाको प्रभावमा परि गाउँपालिका अध्यक्षले बजारको जग्गा व्यक्तिको नाममा पास गर्न सहयोग गरेको विरुद्धमा दुइमहिनादेखि स्थानीयले आन्दोलन गर्दै आएका छन् । आफुले गरेको सिफारिस कानुन संगत रहेको दाबी गर्दै अध्यक्ष चौधरी भने निर्णय फिर्ता नलिने अडानमा छन् ।
स्मरण रहोस् अध्यक्ष चौधरीको आफ्नै अध्यक्षतामा फागुन १५ गते बसेको कार्यपालिका बैठकले इटहर्वा बजारको जग्गा रोक्का राख्ने र यसअघि माघ २८ गते मालपोत कार्यालय सप्तरीलाई गरेको सिफारिस कार्यान्वयन नगर्न पत्राचार गर्ने निर्णय गरेका थिए ।
उक्त निर्णय अनुसार अध्यक्ष चौधरी पत्राचार गर्न तयार नभएपछि चैत २ गते सो बजारको जग्गा भक्तपुरका बालगोपाल कार्कीको नाममा पास भएको छ ।