• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

इटहर्वा बजारको जग्गा रोक्का राख्ने गाउँपालिका स्तरीय भेलाको निर्णय

इटहर्वा बजारको जग्गा रोक्का राख्ने गाउँपालिका स्तरीय भेलाको निर्णय
न्यूज टुडे
राजविराज, २४ चैत । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका  स्तरीय भेलाले  वडा नम्बर २ स्थित रहेको इटहर्वा बजारको जग्गा रोक्का राख्ने निर्णय गरेको छ । गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीको अध्यक्षतामा शनिबार सम्पन्न बृहत भेलाले  सार्वजनिक रुपमा बजारले भोग गर्दै आएको जग्गा रोक्का राख्ने निर्णय गरेको हो । 
गाउँपालिका स्तरीय भेलामा बोल्दै पुर्व अध्यक्ष परशुराम चौधरी । फोटो : न्यूज टुडे
जग्गा रोक्का राख्ने निर्णयसंगै गाउँपालिका मातहतका वडा कार्यालयहरुलाई मालपोत नकाट्न र घरबाटो चारकिल्ला सहितका कुनैपनि सिफारिस नगर्न निर्देशन दिने र बजारले उपभोग गरेको जग्गालाई सार्वजनिक कायम गर्न सम्बन्धित कार्यालयहरुमा कानुनी रुपमा अगाडि बढ्ने निर्णय भएको वडा नम्बर ४ का वडा अध्यक्ष तेज नारायण यादवले जानकारी दिए  ।
गाउँपालिकाद्वारा आयोजित पालिका स्तरीय भेलामा गाउँपालिका अध्यक्ष उपस्थित नभएपछि अध्यक्षता कस्ले गर्ने विषयलाई लिएर ११ बजे बोलाइएको बैठक ४ बजे सुरु भएको थियो । 
पालिका अध्यक्षसंग समन्वय गरि उनकै निर्देशनमा बैठक बोलाइएको जानकारी दिँदै उपाध्यक्ष कल्पना चौधरीले अध्यक्षको अहिले फोन अफ भएकोले कसको अध्यक्षता बैठक बस्ने बारे भेलाबाट राय मागेकी थिइन् । 
गाउँपालिका अध्यक्षको अनुपस्थितमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नुपर्छ भन्ने सार्वजनिक रुपमै कुरा उठेपछि झण्डै ५ घण्टापछी बैठक सुरु भएको थियो । 
भेलामा सहभागी बक्ताहरुले बैठक आयोजना गरि अध्यक्ष अनुपस्थित भएको भन्दै आक्रोश व्यक्त गरे । 
उनीहरुले गाउँपालिका अध्यक्ष चौधरी जनताप्रति जवाफदेही नभएको टिप्पणी गर्दै सेवासुविधा खोस्नुपर्ने बताए । 
उनीहरुले पदको दुरुपयोग गरि सार्वजनिक सम्पत्ति व्यक्तिको नाउँमा पास गर्न सहयोग गर्ने अध्यक्ष चौधरीलाई सार्वजनिक रुपमा बहिष्कार गर्नुपर्नेमा जोड दिए । 
कडा सुरक्षा घेराभित्र भएको भेलामा गाउँपालिकका पुर्व अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी,  वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादवसहितका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु, वेथिति विसंगती विरुद्धका संघर्षसमितीका अध्यक्ष अरुण कुमार चौधरी, जग्गा दाता परिवारका सदस्य भगवती चौधरी,विभिन्न राजनीतिक दलका केन्द्र तथा स्थानीय नेताकार्यकर्ताहरु, पालिकाका विभिन्न शाखाका कर्मचारीहरु, पालिकाका पुर्व जनप्रतिनिधिहरु तथा स्थानीय बुद्धिजीवी, महिला,शिक्षक, पत्रकारहरुको उपस्थिति रहेको थियो । 
बैठकपछि प्रतिक्रिया दिदै वेथिति विसंगति विरुद्धका संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीले गाउँपालिका अध्यक्षको सर्वसत्तावादी, स्वेच्छाचारी निर्णय र गुण्डागर्दी तथा अहंकार विरुद्धको संघर्ष जारी रहेको बताए ।
आजको गाउँपालिका स्तरीय भेला पनि आन्दोलनकै एउटा स्वरुप रहेको बताउँदै उनले गाउँपालिका अध्यक्षले आत्मा आलोचनासहित सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलनलाई निरन्तर दिने चेतावनी दिए । 
आन्दोलनका कार्यक्रम अन्तर्गत अध्यक्षको कार्यकक्षमा तालाबन्दी कायम राखेको जानकारी दिँदै उनले अध्यक्ष चौधरीले सार्वजनिक गाडी प्रयोग गरेको पाइएमा नियन्त्रणमा  लिने र सार्वजनिक कार्यक्रममा सहभागी भएको भेटिएमा कालोमोसो दल्ने चेतावनी दिए ।
गाउँपालिका अध्यक्ष चौधरीले भु- माफीयाको प्रभावमा परि गाउँपालिकाको निर्णयले सातबर्षदेखि रोक्का राखेको ४० बर्षदेखि बजारले भोकचलन गर्दै आएको इटहर्वा बजार कलौनी सितापुरको किनं ६५५ क्षेत्रफल १ – २ – १७ (विघा) जग्गा वडा अध्यक्षको अधिकार हरण गरि मालपोत कार्यालय सप्तरीलाई घरबाटो चारकिल्ला र फुकुवा सिफारिस गरेका थिए । 
अध्यक्षको सिफारिसलाई आधारमानी उक्त जग्गा भक्तपुरका बालगोपाल कार्कीको नाउँमा मालपोत कार्यालय सप्तरीले चैत २ गते पास गरि दिएको संघर्ष समितिका सदस्य सचिब एवम् बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले जानकारी दिए ।