जनता समाजवादी पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आफुले सप्तरीको विकासको लागि उठाएको कदम अगाडि बढ्ने बताएका छन् । जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा शुक्रबार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्वागत तथा सम्मान कार्यक्रममा मन्चासिन जसपा अध्यक्ष उपेन्द्र यादवसहित अतिथिगण । फोटो : न्यूज टुडे
” सप्तरी विकासको दृष्टिकोणले धैरै पछाडी परेको छ, गरिबी र बेरोजगारी समस्याले झनै डर लाग्दो रुप धारण गरेको छ, उनले भने, सप्तरीको विकासमा यहाँका केही तत्वले नै अवरोध सिर्जना गरी रहेको कारण विकासको मामिलामा सप्तरीको बदनामी देशभरीमा भईरहेको छ, आफुले सप्तरीको विकासका लागि स्वास्थ्य, शिक्षा, यातायात, कृषि, क्षेत्रमा उठाएको कदम अब अगाडि बढ्छ ।”
जनता समाजवादी पार्टीले विकासको लागि राखेको सोच अनुसार सप्तरीको विकास निश्चित रुपमा सम्भव हुने उल्लेख गर्दै जसपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले सप्तरीको विकासको लागि आफु प्रतिबद्ध रहेको बताए ।
जसपा सप्तरीद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी जसपा नेताकार्यकर्ताहरु । फोटो : न्यूज टुडे
सप्तरीमा विकासको कामलाई समेत अवरोध गर्ने नियतबस विरोध गर्ने विचित्रको परिपाटी देखिएको भन्दै उनले यस्ता खाले विकास विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न जनता जागरुक हुनु जरुरी रहेको बताए ।
सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई देशकै नमूना अस्पतालको रुप दिने आफ्नो लक्ष्य रहेको बताउदै उनले आफुले राखेको उदेश्य अनुसार भवन निर्माणको कार्य सम्पन्न भईसकेको र छिट्टै हस्तारण हुने तथा त्यस पश्चात जाँचका आधुनिक उपकरणहरु जडान हुने बताए । गजेन्द्र नारायण सिंह अस्पताल नयाँ भवनमा संचालन भएलगत्तै राजविराज नगरपालिका वडा नम्बर १० स्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यले पनि तिव्रता पाउने उनले विश्वास व्यक्त गरे ।
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको मुख्य आधार गजेन्द्रनारायण सिंह अस्पतालको स्तर उन्नति भएको बताउँदै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सप्तरीबासीले विकासको बाताबरण बनाउनुपर्नेमा जोड दिए ।
सदरमुकाम राजविराजलाई आधुनिक शहरको रुपमा विकास गर्ने र त्यसको लागि रिंगरोड लागतका कामहरु संचालनमा रहेको भन्दै उनले समग्र सप्तरीको विकासको लागि सडक संजाल अपरिहार्य हुने बताए ।
अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र अपहरण हुने अवस्था सिर्जना भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले मुलुकको भविष्य जनता समाजवादी पार्टीसंग जोडिएकोले सबैजना एकजुट हुनुपर्नेमा जोड दिए ।
यादवले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने जिम्मेवारी मधेशी जनताको काँधमा आएकोले यसको अगुवाई लिई हिमाल, पहाड र मधेशका उत्पिडन , विभेद र अन्यायमा परेको जनता एकठाउँमा आएर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आबश्यकता औल्याए ।
शिक्षा, स्वास्थ्यमा आम नागरिकको पहुँच नभएसम्म मुलुकमा आसमानता र विभेद अन्त्य नहुने जिकिर गर्दै अध्यक्ष यादवले गरिबी बेरोजगारी समस्या समाधानका लागी शिक्षा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद रन्जु ठाकुर, मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद अनरिुद्ध प्रसाद सिंह यादव, राजनीतिक समिति सदस्य विनोद चौधरी, संघीय सल्लाहकार समितिका सदस्य शैलेश चौधरी, केन्द्रिय सदस्य रमिलादेवी साह, मधेश प्रदेश समितिका मुख्यसचिव दिनेश कुमार यादव, राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज यादव, कार्यवाहक नगर प्रमुख इसरत परविन, समाजवादी युवा संघका केन्द्रिय सदस्य राहुल कुमार राय ,प्रेस मंच सप्तरीका अध्यक्ष भुषण सिंह, समाजवादी विद्यार्थी संघ सप्तरीका अध्यक्ष संजय यादव, जसपा सप्तरी क्षेत्र नम्बर १ का अध्यक्ष एवम् तिरहुत गाउँपालिकाका निवर्तमान अध्यक्ष मनोज बहरखेड यादव, राजविराज नगरपालिका २ का वडा अध्यक्ष अरुण कुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीका सचिब हरेराम यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य बृजमान तामाङले गरे ।