न्यूज टुडे
राजविराज, २१ चैत ।
जनमत पार्टीका नेता सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् पुर्व मन्त्री महेश प्रसाद यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म काममा नफर्कीने पुर्वाधार विकास कार्यालयका कर्मचारीहरुले अडान लिएका छन् । कार्यालय प्रमुख प्रवीण प्रताप अधिकारीमाथि सार्वजनिक स्थानमा हातपात तथा दुर्व्यवहार गरेको भन्दै मन्त्री यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलन जारी राख्ने उनीहरुले अडान राखेका हुन् ।
कार्यालयमै प्रवेश गरि कार्यालय प्रमुखमाथि भएको हातपात तथा दुर्व्यवहार निन्दनीय रहेको र अमर्यादित व्यवहार देखाउने पुर्वमन्त्री यादवसहित घटनामा संलग्न दोषीमाथि कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने कर्मचारीहरु बताउँछन् । उनीहरुले पुर्वमन्त्री यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म काममा नफर्किने बताए ।
पुर्वमन्त्री यादवमाथि कारबाहीको माग गर्दै पुर्वाधार विकास कार्यालय मधेश प्रदेश अन्तर्गतका सम्पुर्ण कार्यालयका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर पेनडाउन सहितका दबाब मुलक कार्यक्रम जारी राखेका छन् ।
कर्मचारीहरु आन्दोलनमा उत्रिदा मधेश प्रदेश भरी पुर्वाधार विकास कार्यालयको सम्पुर्ण सेवा प्रभावित भएका छन् । कर्मचारीहरुको आन्दोलनका कारण सेवाग्राहीहरु मर्का परेका छन् ।
आइतबार पुर्व मन्त्री यादव र ऊनीसंगै आएका धिरेन्द्र यादवले कार्यालय प्रमुख अधिकारीमाथि गाली गलौज गर्दै हातपात गरि दुर्व्यवहार गरेका थिए ।