अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले सोमबार राजगढ गाउँपालिका–४ बेल्ही चपेनाकी एक घरेलु हिंसा घटनाका पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । स्थानीय २५ वर्षीया अनु कुमारी साहलाई १० हजार रुपैयाँ सहयोग गरेको हो ।
पीडित महिलासंग सामुहिक तस्वीरमा इन्सेक प्रतिनिधि तथा अधिकारकर्मीहरु । फोटो : न्यूज टुडे
राजविराजस्थित इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा इन्सेक सदस्य बैद्यनाथ झाले पीडितलाई १० हजार रुपियाँको चेक हस्तान्तरण गरे । उक्त अवसरमा इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल, सहजकर्ता अजय परियार, एकल महिला समूहकी प्रदेश अध्यक्ष तथा महिला मानव अधिकार रक्षक सञ्जालकी सप्तरी अध्यक्ष अनिता देवकोटा, सप्तरी जिल्ला बार इकाईका निवर्तमान अध्यक्ष डोमन साह, मेची महाकाली बुहारी संयुक्त आवाज सप्तरीकी कोषाध्यक्ष नानीमैया कटवाल र श्रीवती पासवानको उपस्थिती रहेको थियो ।
घर निकाला भएपछि मजदुरी गरेर जिविकोपार्जन गरिरहेकी साहले आर्थिक अवस्था कमजोर भएको भन्दै इन्सेक सप्तरी जिल्ला प्रतिनिधिसँग आर्थिक तथा न्यायका लागि पहल गरिदिनु हुन निवेदन भन्दै निवेदन दिएकी थिइन् । सोही निवेदनको आधारमा अवस्था अध्ययन, अनुगमन गरी पीडितलाई सहयोगका लागि सिफारिस भएबमोजिम इन्सेक मधेस प्रदेश कार्यालयले पीडितलाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले बताए ।
राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका ४२ वर्षीय खरानन्द साहले पीडितलाई नाबालकैमा विद्यालय जाँदा अपहरण गरी भगाई भारतको मुम्बई लगेर यौन शोषण गरेको र औषधि सेवन गराई गर्भपतन गराएको बताए । नाबालकैमा बुबा, दाजुलाई मार्ने तथा अश्लिल तस्विर बनाई फेसबुकमा हाल्ने धम्की दिई यौन शोषण गर्ने गरेकोमा पछि उनैसँग विवाह गर्न बाध्य भई कान्छी पत्नीको रुपमा रहेको पीडितले बताइन् । खरानन्दकी जेठी पत्नी ४० वर्षीया राजदेबी साहतर्फ १ छोरा र ३ छोरी छन् भने पीडिततर्फ २ वर्षीया छोरी छिन् ।
पीडितको छोरी भएदेखि पतिसहित ७० वर्षीया सासु जंगलीदेबी साह, ४० वर्षीया सौता राजदेबी साह, ३२ वर्षीय देवर कमल नारायण साह र ३० वर्षीया देवरानी सुनितादेबी साहले दैनिक कुटपिट गर्न थालेपछि पीडितले जिल्ला अदालतमा ०७८ फागुन २ गते मानाचामल, सम्बन्ध विच्छेद र अंशदर्ता तथा ०७८ फागुन ३ गते घरेलु हिंसाको उजुरी दिएकी थिइन् । घरेलु हिंसामा अदालतले ०७८ फागुन ४ गते अन्तरकालिन आदेश जारी गरेको छ ।
पीडितले बताए अनुसार सोही मुद्दाको रिसइबी लिई ०७९ मङ्सिर ९ गते राजविराज नगरपालिका–६ हुलाकी सडकस्थित घर नजिकै आरोपितले सिटी रिक्शाबाट ओराली घरभित्र बन्धक बनाई छोरा नविनलाई बोलाई लाठी, मुक्काले कुटपिट गरी घाँटी थिचेर मार्न खोजेका थिए । पीडित रोइकराई चिच्याएको सुनेर गस्तीमा रहेको प्रहरीले पीडितको उद्धार गरेको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ०७९ मङ्ंसिर ९ गते उपचार भएको थियो ।
उक्त घटनाका बारेमा मङ्ंसिर ११ गते पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले लिन इन्कार गरेको पीडितले बताइन् । सिडिओले समेत उक्त काम प्रहरीको हो भन्दै निर्देशन दिन नमानेको तथा ०७९ मङ्सिर १६ गते हुलाकमार्फत रजिष्ट्री गरी पठाएको उजुरी समेत प्रहरीले दर्ता नगरेको पीडितले गुनासो गरिन ।
अन्ततः उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशको उजुरी दिनुपरेको भन्दै पीडितले अदालतबाट ०८० असोज १९ गते परमादेश जारी भएपनि जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेर अदालतको अपहेलना गरेको बताइन् । मामाघर विस्थापित भएकी पीडितले हाल मजदुरी गरेर जिविकोपार्जन गरिरहेकी छिन् ।
अदालतको परमादेश अनुसार प्रहरीले उजुरी दर्ता नगरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजु सिद्धी ब्रजाचार्यविरुद्ध ०८० फागुन ४ गते अदालतको अपहेलनाको उजुरी दिएकी छिन् । एसपी ब्रजाचार्यले अदालतबाट परमादेश भएका उजुरी दर्ता भई कारवाही अगाडि बढने बताए । उनले इन्सेक प्रतिनिधिसँगको भेटमा पीडितलाई प्रहरी कार्यालयको मुद्दा शाखामा पठाउन वा समस्या भए सोझै आफ्नो कार्यकक्षमा पठाउन भएको बताए ।
पीडितका पति ४२ वर्षीय खरानन्द साहसहित परिवारका सदस्यविरुद्ध परेको उजुरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न उच्च अदालत जनकपुर राजविराज इजलासले ०८० असोज १९ गते परमादेश जारी गरेको छ । उक्त परमादेश बमोजिम पुस १८ गते उच्च सरकारी वकिल कार्यालयलाई आदेशको जानकारी गराए पश्चात पुस २४ गते सनाखत गराउन निवेदनसाथ पीडित जिल्ला प्रहरी कार्यालय गएकी थिइन् ।
पीडितका अनुसार जिल्ला प्रहरी कार्यालयले माघ ५ गते आउनु भनेकोमा सोही मितिमा जाँदा डिएसपी ढुण्डिराज नेउपानेले पति पत्नीको झैझगडा सामान्य हुने भएकोले केही गर्नु नपर्ने बरु मुद्दा नचल्ने गरी उजुरीलाई तामेलीमा राखिदिने भन्दै चासो नदिएको गुनासो गरिन । गुनासो लिएर जाँदा एसपी बज्राचार्यले भेट नदिएको र अदालतको परमादेश अनुसार उजुरी दर्ता पनि नगरेकोेले फागुन ४ गते अदालतको अपहेलनामा कारवाहीको माँग गर्दै उजुरी दिएको पीडितले जानकारी दिईन ।