न्यूज टुडे
राजविराज, १८ चैत ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका स्तरीय वेथिति विसंगति विरुद्ध संघर्षसमितिद्वारा गाउँपालिका कार्यालयमा लगाइएको ताला आइतबार पनि जारी रहेको छ । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले ईटहर्वा बजार कलौनी सितापुरको जग्गा व्यक्तिको नाउँमा पास गर्न सहयोग गरेको भन्दै संघर्ष समितिले गत बिहिवार लगाएको ताला पाँचौं दिनसमेत जारी रहेको हो ।
तालाबन्दीका कारण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । संघर्ष समितिले जग्गा रोक्का नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् भने अध्यक्ष चौधरीले कुनैपनि हालतमा पालिकाको निर्णय कार्यान्वयन नगर्ने जिकिर गर्दै आएका छन् । गाउँपालिकामा तालाबन्दी पछि जण्डोल बजारमा रहेको सम्पर्क कार्यालयमा तालाबन्दी गर्न जाँदा अध्यक्ष चौधरीकै निर्देशनमा प्रतिकार गर्न स्थानीयलाई उक्साएपछि शुक्रबार संघर्ष समितिसंग झडप भएको थियो ।
झडपमा संघर्ष समितिका सदस्य श्याम कुमार चौधरी ,स्थानीय दुर्योधन चौधरी र बुद्धि राय घाइते भएका थिए ।
संघर्ष समितिले गत विहिबार गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै सडक अवरुद्धसहितका विभिन्न चोक तथा बजारहरुमा अध्यक्ष चौधरीको सर्वसत्तावाद, गुण्डागर्दी तथा स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्दै जनजागरण कार्यक्रम गर्नेसहितका आन्दोलनका कार्यक्रम अगाडि सारेको छ ।
इटहर्वा बजारको जग्गा रोक्का राख्ने कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार संघर्ष समितिसंग गरिएको सहमतिबाट अध्यक्ष चौधरी पछिहटेपछि संघर्ष समितिको नेतृत्वमा गाउँपालिकामा तालाबन्दी हुँदा सम्पुर्ण सेवा प्रभावित भएको छ ।