अग्नीसाईर कृष्णासवरन गाउँपालिका स्तरीय वेथिति विसंगति विरुद्ध संघर्षसमितिद्वारा विशाल बजारमा शनिबार गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी विरुद्ध विरोध प्रदर्शन गरेको छ । ईटहर्वा बजार कलौनी सितापुरको जग्गा व्यक्तिको नाउँमा पास गर्न सहयोग गरेको भन्दै संघर्ष समितिको नेतृत्वमा विरोध प्रदर्शन तथा कोणसभा आयोजना गरिएको हो ।
कोणसभालाई सम्बोधन गर्दै पुर्व उपाध्यक्ष मिना चौधरी । फोटो : न्यूज टुडे
गाउँपालिका कार्यालय सितापुरबाट निस्किएको विरोध जुलुस अध्यक्ष चौधरी विरुद्ध चर्को नारा लगाउँदै वडा नम्बर ४ स्थित विशाल बजारमा पुगेर कोणसभामा परिणाम भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले इटहर्वा बजारको जग्गा रोक्का गर्ने कार्यपालिकाको निर्णय कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । उनीहरुले अध्यक्ष चौधरीको सर्वसत्तावादी, स्वेच्छाचारी र अहंकार विरुद्ध एकजुट हुन गाउँपालिकाबासीलाई आग्रह गरे ।
मन्तव्य व्यक्त गर्दै स्थानीय बुद्धिजीवी कालाधार चौधरी । फोटो : न्यूज टुडे
बक्ताहरुले व्यक्तिगत स्वार्थ पूरा गर्न भु- माफियाको प्रभावमा परि सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पास गर्न सहयोग पुर्याउने अध्यक्ष चौधरीमाथि छानबिन गरि कडा कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरे ।
माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताउँदै उनीहरुले अध्यक्ष चौधरीले सार्वजनिक यातायात प्रयोग गरे नियन्त्रणमा लिने र कालोमोसो दल्ने चेतावनी दिए ।
कोणसभालाई अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी पुर्व उपाध्यक्ष मिना चौधरी, प्रत्यासी उम्मेदवार शैलेन्द्री कुमारी लेखी, नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सचिब एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) का प्रत्यासी उम्मेदवार तुलसी थारु, प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्यानन्द लेखी, एमालेका योगेन्द्र प्रसाद चौधरी, जसपाका दिनेश कुमार साह, स्थानीय बुद्धिजीवी महेश कुमार चौधरी कालाधार चौधरीलगायतले सम्बोधन गरे । कार्यक्रम संचालन राम चौधरीले गरेका थिए ।
संघर्ष समितिले गत विहिबार गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै सडक अवरुद्धसहितका विभिन्न चोक तथा बजारहरुमा अध्यक्ष चौधरीको सर्वसत्तावाद, गुण्डागर्दी तथा स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्दै जनजागरण कार्यक्रम गर्नेसहितका आन्दोलनका कार्यक्रम अगाडि सारेको छ ।
इटहर्वा बजारको जग्गा रोक्का राख्ने कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार संघर्ष समितिसंग गरिएको सहमतिबाट अध्यक्ष चौधरी पछिहटेपछि संघर्ष समितिको नेतृत्वमा गाउँपालिकामा तालाबन्दी हुँदा सम्पुर्ण सेवा प्रभावित भएको छ ।