• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अध्यक्ष चौधरीको पुतला दहन र आधाघण्टा सडक अवरुद्ध

अध्यक्ष चौधरीको पुतला दहन र आधाघण्टा सडक अवरुद्ध
न्यूज टुडे
राजविराज, १६ चैत । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका स्थित वेथिति विसंगती विरुद्ध संघर्ष समितिले गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको पुतला दहन गर्दै सडक अवरुद्ध गरेका छन् । अध्यक्ष चौधरी विरुद्ध चर्को नारा लगाउँदै उनीहरुले शुक्रबार पुतला दहन पश्चात् पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । 
गाउँपालिका अगाडि अध्यक्ष चौधरीको पुतला दहन गरेसकेपछि विभिन्न नारा लगाउँदै आन्दोलनकारीहरु पुर्वपश्चिम राजमार्ग अवरुद्ध गर्न पुगेका थिए । 
सडक अवरुद्ध गर्दै आन्दोलनकारीहरु । फोटो : न्यूज टुडे
“इटहर्वा बजारको जग्गा फिर्ता गर, भु- माफिया जडिया अध्यक्ष राजिनामा दे, गुण्डागर्दी गर्ने अध्यक्ष मुर्दावाद, दिनानाथ चोर मुर्दावाद, पालिकामा सुशासन कायम गर”लगायतका चर्का नारा लगाउदै बेलुकी ५  बजेदेखि साढे ५ बजेसम्म सडक अवरुद्ध गरेका थिए । 
अध्यक्ष चौधरीको पुतला दहन गरिएको दृश्य । फोटो: न्यूज टुडे
आन्दोलनकारीहरु सडकमा उत्रिएर नारावाजी गर्न थालेपछि सयौंको संख्यामा सवारी साधानहरु सडकमै थन्किएको थियो । आन्दोलनका कारण सयौं यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए । 
सडक अवरुद्ध पछि गाउँपालिका अगाडि आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सचिब तुलसी थारुले इटहर्वा बजारको जग्गा संरक्षण हुने विश्वासिलो आधार तथा गाउँपालिका अध्यक्षले गरेको वेथिती विसंगति नियन्त्रण नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । 
कोणसभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सचिव तुलसी थारु । फोटो : न्यूज टुडे
अरु पालिकाहरुले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने गरेको चर्चा गर्दै उनले अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्षले भु-माफियासंग मिलेर सार्वजनिक जगा बेच्न सहयोग गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए । 
नेकपा एमालेका जिल्ला समिति सदस्य एवम् अग्नीसाईर कृष्णासवरन गाउँपालिका इन्चार्ज योगेन्द्र प्रसाद चौधरीले बजारको सार्वजनिक जग्गा फिर्ता नहुन्जेलसम्म आन्दोलन जारी राख्ने बताउँदै सम्पुर्ण पालिकाबासीलाई सहभागी हुन आग्रह गरे । उनले गाउँपालिका अध्यक्षको स्वेच्छाचारी निर्णय र तानाशाही प्रवृत्ति विरुद्ध गाउँ तथा हटिया,बजारमा भण्डाफोर अभियान तथा जनजागरण कार्यक्रम हुने भएकोले सक्रिय सहभागी हुन आव्हान गरे । 
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला सदस्य एवम् गाउँपालिका इन्चार्ज योगेन्द्र प्रसाद चौधरी । फोटो: न्यूज टुडे
जनमत पार्टी अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष दयानन्द मण्डलले गाउँपालिका अध्यक्ष चौधरी जनताप्रति जवाफदेही नभएको टिप्पणी गरे । 
उनले मटो  रकम लिएर अध्यक्ष चौधरीले सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पास गरेको आशंका गर्दै छानबिन गरि कारबाहीको माग गरे ।
कोणसभामा बोल्दै जनमत पार्टीका स्थानीय नेता दयानन्द मण्डल । फोटो : न्यूज टुडे
संघर्ष समितिका सदस्य सचिव एवम् इटहर्वा बजार कलौनी सितापुरका अध्यक्ष मिलन चौधरीले सरकारी जग्गा संरक्षण अभियानमा सम्पुर्ण गाउँपालिकाबासीलाई सहयोग गर्न आग्रह गरे । उनले संघर्ष समितिले घोषणा गरेको सबै कार्यक्रममा सहभागी भएर आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन कुचो,खरेटो बोकेर आन्दोलनमा सहभागी हुन आग्रह गरे । 
आन्दोलननमा स्थानीय राजनीति दलका नेताकार्यकर्तासहित बजारबासीहरुको सहभागीता रहेको थियो ।