• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अग्नीसाईरका अध्यक्ष विरुद्ध आन्दोलन उग्र, अध्यक्षकै निर्देशनमा आन्दोलनकारीमाथि आक्रमण

अग्नीसाईरका अध्यक्ष विरुद्ध आन्दोलन उग्र, अध्यक्षकै निर्देशनमा आन्दोलनकारीमाथि आक्रमण
न्यूज टुडे
राजविराज, १६ चैत । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी विरुद्ध जारी आन्दोलनले उग्ररुप लिएको छ ।  पालिकामा गठित वेथिति विसंगती विरुद्ध संघर्ष समितिको नेतृत्वमा जारी आन्दोलन उग्र बन्दै गएको हो । 
झडप नियन्त्रणमा लिदै गाउँपालिका प्रहरी । फोटो: न्यूज टुडे
गाउँपालिका अध्यक्ष चौधरीले इटहर्वा बजार कलौनी सितापुरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको विरुद्ध आन्दोलनरत पक्षले अध्यक्ष चौधरीको सम्पर्क कार्यालय जण्डोलमा तालाबन्दी गर्न खोजेपछि अध्यक्ष चौधरीले  स्थानीयबासीलाई प्रतिकार गर्न निर्देशन दिएपछि झडप भएको थियो । 
झडपमा आन्दोलनरत पक्षका श्याम कुमार चौधरी घाइते भएका छन् भने अध्यक्ष पक्षका दुर्योधन चौधरी र बुद्धि राय घाइते भएका छन् । 

टाउको तथा घाँटीसहित शरीरको विभिन्न भागमा चोटपटक लागेका ऊनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर १ स्थित जण्डोलमा रहेको अध्यक्ष चौधरीको सम्पर्क कार्यालय । फोटो : न्यूज टुडे
अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ स्थित अध्यक्ष चौधरीको घर नजिक रहेको सामुदायिक भवनमा संचालनमा रहेको सम्पर्क कार्यालयमा आन्दोलनकारीहरुले ताला लगउन खोज्दा पालिका अध्यक्ष आफैले वरिपरिका बजारबासीहरुलाई आक्रमण गर्न निर्देशन दिएपछि झडप भएको थियो । अध्यक्षको निर्देशन पछि स्थानीयले आन्दोलनकारीमाथी बाँस तथा इटाले आक्रमण गरेको संघर्ष समितिका अध्यक्ष अरुण कुमार चौधरीले बताए ।
स्थानीयलाई अध्यक्षले गुहार मागेर आक्रमण गर्न लगाएपछि झडप हुने स्थित सिर्जना भएकोले आफुहरु पछि हटेको हुँदा ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिए । आफुहरु शान्तिपुर्ण रुपमा आन्दोलनमा रहेपनि गाउँपालिका अध्यक्षले भिडन्त गराउन चाहेको उनले आरोप लगाए ।
अध्यक्ष गाउँपालिका कार्यालय नआउने र सम्पर्क कार्यालयबाट कामकाज गर्ने गरेकोले सम्पर्क कार्यालयमा तालाबन्दी गर्न जाँदा आफुहरुमाथि आक्रमण भएको घाईते श्याम कुमार चौधरीले बताए । 
गाउँपालिका अध्यक्ष चौधरीको सहयोगमा व्यक्तिले आफ्नो नाउँमा लिएको इटहर्वा बजार कलौनी सितापुरको जग्गा सुरक्षित हुने आधार नबनेसम्म अध्यक्ष विरुद्धको आन्दोलनको कार्यक्रम जारी रहने इटहर्वा बजारका सल्लाहकार योगेन्द्र प्रसाद चौधरीले बताए ।
आन्दोलनमा घाईते भएका आन्दोलनकारी श्याम कुमार चौधरी । फोटो : न्यूज टुडे
उनले गाउँपालिका अध्यक्ष चौधरीले फागुन १५ गते कार्यपालिका बैठकबाट भएको निर्णय र १६ गते गाउँपालिका र आफूहरु विच भएको सझौता अनुसार जग्गा रोक्का राख्ने निर्णय कार्यान्वयन गर्ने ठोस आधार नबनेसम्म आन्दोलनलाई  थप सशक्त रुपमा अगाडि बढाउने चेतावनी दिए । 
गाउँपालिका स्तरीय संघर्ष समितिले बिहिवार गाउँपालिकामा तालाबन्दी गरि सडक जाम सहितको विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 
आन्दोलनका कारण गाउँपालिकाको सम्पुर्ण कामकाज प्रभावित भएको छ।