मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले प्रदेशमा भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमाले नगर समिती कन्चनरुपद्वारा सप्तरीको कंचनपुरमा सोमबार आयोजित होली पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गृह,संचार तथा कानुन मन्त्री लेखीलाई फुलमाला खदा लगाएर स्वागत सम्मान गर्दै एमाले नेताकार्यकर्ताहरु । फोटो : न्यूज टुडे
होलीको शुभकामना दिदै मन्त्री लेखीले धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको साँस्कृतिक पर्वको रुपमा मनाउने होलीले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
संचार मन्त्री लेखीलाई खदा ओढाएर स्वागत गर्दै संचारकर्मी वृजमान तामाङ। फोटो : उत्तम आचार्य
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका उनले आफुले पाएको जिम्मेवारीलाई इमानदारीपुर्वक बहन गर्दै प्रदेशमा भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्न विज्ञहरुसंग राय लिएर योजनाबध्द रुपमा काम गर्ने बताए ।
“मैले तीनवटा विषयसंग सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाएको छु, लेखीले भने, संचार, कानुन तथा गृहसंग सम्बन्धित विज्ञहरुसंग छलफल गरि सरकार संचालनको आबश्यक नीति बनाएर अघि बढ्नेछु ।त्यसका लागि छिटै विज्ञहरुसंग अन्तरक्रिया कार्यक्रमको तयारी भइरहेको छ ।”
सूचनाको हकको पहुँच सर्वसाधारण सम्म पुर्याउने, भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्न आबश्यक नीति बनाउने र गृह प्रशासनलाई प्रभावकारी बनाउन र सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण तथा प्रदेशबासीलाई सुरक्षाको प्रत्याभूति कसरी मिलाउने विषयमा विज्ञहरुले दिएको सुझाव तथा सल्लाह बमोजिम योजना बनाउने मन्त्री लेखीले बताए ।
आफुले पाएको जिम्मेवारीलाई इमानदारी पुर्वक बहन गर्ने उल्लेख गर्दै उनले आफ्नो कारण मतदाता तथा पार्टीको शिर निहुरिनु नदिने उद्घोष समेत गरे । थोरै बोल्ने र बढी काम गर्ने पक्षमा आफू रहेको बताउँदै मन्त्री लेखीले सरकारमा हुँदैमा पार्टीलाई असहयोग गर्ने कुरै हुदैन भन्दै सरकार र पार्टीको कामलाई संगसंगै अगाडि बढाउने उल्लेख गरे ।
नगर समिति अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सदस्य उत्तम गौतम, आश्रा चौधरी, निजामती कर्मचारी संगठनकी केन्द्रिय उपाध्यक्ष भवानी दाहल, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राईसहित विभिन्न संचार माध्यम आवद्ध पत्रकारहरु, एमाले जिल्ला तथा स्थानीय नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमको संचालन नगर समिति सचिब केवल खत्रीले गरेका थिए । कार्यक्रममा नवनियुक्त मन्त्री लेखीलाई खदा, माला र टीका लगाएर भव्य स्वागत समेत गरिएको थियो ।