वन तथा वातावरण मन्त्री नवलकिशोर साहले देशमा कुनै उथलपुथल नआए आफ्नो क्षेत्रमा लागि केही गरेर मात्रै मर्ने धोको रहेको बताएका छन् । आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्थाद्वारा सप्तरीको महुलीमा आइतबार आयोजित सम्मान तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री साहलाई सम्मान गर्दै संस्थाका संस्थापक अध्यक्ष भुवन आचार्य । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रबासीले गरेको अपार माया, प्रेम र सद्भावलाई सम्झेर क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले देशकै विकास गर्ने अभिभारा आफ्नो काँधमा आएपनि आफ्नो निर्वाचन क्षेत्रको जनताको समस्या र आवश्यकतालाई पूरा गर्नु आफ्नो प्रमुख दायित्व भएको बताए ।
सम्मान ग्रहण गर्दै नवनियुक्त वन तथा बाताबरण मन्त्री साह । फोटो : न्यूज टुडे
“समग्र देशकै विकास गर्ने अभिभारा मेरो हो, उनले भने, मलाई मन्त्री वनाउने जनताको आवश्यकता र समस्यालाई हेर्नुपर्ने मेरो पहिलो दायित्व हो, कुनै राजनीतिक उथलपुथल नभए क्षेत्रबासीको लागि केही गरेर मात्र मर्ने मेरो धोको छ ।”
उमेरले पनि आफू जीवनको अन्तिम उत्तार्धमा पुगेको भन्दै क्षेत्रको लागि केही गरेर मात्र मर्ने सोच राखेको उनको भनाइ थियो । नेपाली राजनीति जटिल मोडमा रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफू बाँचुन्जेल उथलपुथल हुने भनाइले पनि स्थिर सरकार अझै नभएको तर्क गर्दै कति खेर पद जाने हो त्यसको ग्यारेन्टी नभएको बताए ।
मन्त्री साहको स्वागतमा लामवद्व जनप्रतिनिधि तथा सहकारीका पदाधिकारीहरु । फोटो : न्यूज टुडे
आफू मन्त्री पदमा हुन्जेल जनपक्षीय र उत्कृष्ट काम गर्ने दाबी गर्दै मन्त्री साहले सरकारको नीति बमोजिम आ-आफ्नो ठाउँको योजनाको डिपिआर बनाएर दिन आग्रह गरे ।
अन्य मन्त्रालयसंग सहकार्य र समन्वय गरि योजना इन्टरचेन्ज गरेर भएपनि विकास निर्माणको कार्यलाई गति दिने बताउँदै मन्त्री साहले सोही अनुसार योजना तयार गरि पेश गर्न अनुरोध गरे ।
सरकार स्वामित्वको दुग्ध विकास संस्थानले किसानको करोडौं भुक्तानी गर्न बाँकी राखेको कुरा सदनमा उठाएको भनि सम्मान गरेको भनेपछि उनले जनताको समस्या उठाउने आफ्नो कर्तव्य मात्र पूरा गरेको उल्लेख गरे ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ की पुर्व वडा अध्यक्ष कुसुम आचार्यको निवासमा मन्त्री साह । फोटो : न्यूज टुडे
जनताले आफुमाथि लगाएको गुणको ऋण चुक्ता गर्न कहिल्यै नसक्ने भन्दै मन्त्री साहले जनताकै मतले मन्त्री बनाएकोले जनअपेक्षा अनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विकास विरोधी तत्वले कमिसन लिएको भनि अनावश्यक भ्रम सिर्जना गरि बदनाम गरेकोप्रति आक्रोश व्यक्त गर्दै उनले कमिसन लिएको पुष्टि गरेर देखाउन चुनौती दिए । उनले विकासको कार्यमा कसैलाई कमिसन दिन नहुनेमा जोड दिदै कसैले कमिसन मागेको सूचना पाए कारबाही गर्ने चेतावनी दिए ।
सहकारी संस्थाका उपाध्यक्ष प्रेमलाल न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य, डिभिजनल वन कार्यालय सप्तरीका वन अधिकृत सचेन्द्र यादव, संस्थाका संस्थापक अध्यक्ष भुवन आचार्य, सामुदायिक वन उपभोक्ता समुह अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष अर्जुन आचार्य लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका व्यवस्थापक बोधराज सुवेदीद्वारा संचालित कार्यक्रममा स्वागत संचालक समिति सदस्य डम्बर कुमार बस्नेतले गरे ।
उक्त अवसरमा मन्त्री साहलाई संस्थाको तर्फबाट दोसल्ला ओढाएर, टोपी लगाएर र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो भने सर्वसाधारणले समेत पुष्पगुच्छाद्वारा अभिनन्दन गरेका थिए ।