नर्मदेव यादव
रुपनी, ७ चैत ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनीमा बुधबार डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । शम्भुनाथ वन डिभिजन कार्यलय रुपनी सप्तरीको समन्वयमा डिभिजनल बन कार्यालय सप्तरीद्वारा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
शम्भुनाथ वन डिभिजन कार्यालय रुपनीका प्रमुख सशिन्द्र यादवको नेतृत्वमा वन जङ्गल बचाऔं, सामुदायिक वन जंगलमा कसैले आगो नलगाऔं, बन जङ्गल वरिपरि लाइटर,सलाई नबालौ , विडि,चुरोट,वन जङ्गलमा खाएर जथाभावी नफालौ भन्ने लगायतका नारा लगाउँदै जनचेतनामूलक र्याली प्रदर्शन गरिएको थियो ।
र्यालीमा रुपनी गाउँपालिका र शम्भुनाथ नगरपालिकाको विभिन्न १६ वटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीहरु, स्थानीय सरोकारवाला ब्यक्तिहरु, प्रहरी पत्रकार जनप्रतिनिधिसहितका सहभागीता रहेको थियो ।
सयौंको संख्यामा रहेका वन अभियान्ताहरुले रुपनीचौक देखि निकालेको र्याली मिलन चौकमा पुगेर समापन गरिएको थियो ।
डढेलोले वन जङ्गलमा विभिन्न किसिम प्रजातीका बोट बिरुवा देखि जिवजन्तु, पशुपन्क्षीहरु लगायतको हानी नोक्सानी तथा मृत्यु हुने भएको साथै जङ्गलको छेउमा रहेको मानव वस्ती सखाप हुने घटनालाई न्यूनीकरण गर्न तथा मानवीय, धन सम्पतिको नोक्सानी रोक्ने उदेश्यले जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको वन डिभिजन रुपनीका प्रमुख शसिन्द्र यादवले जानकारी दिए ।