• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार महासंघ सप्तरीमा तालाबन्दी जारी 

पत्रकार महासंघ सप्तरीमा तालाबन्दी जारी 
न्यूज टुडे
राजविराज, १ चैत । 
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालय राजविराजमा गरिएको तालाबन्दी जारी रहेको छ । सदस्यता सिफारिसमा भेदभाव र पक्षपात गरेको विरुद्धमा स्थानीय पत्रकारहरुले गरेको तालाबन्दी बिहीवार आठौं दिन पनि जारी रहेको हो । 
पत्रकारिता क्षेत्रमा योगदान गरेका वरिष्ठ पत्रकार तथा क्रियाशिल पत्रकारहरुको नाम सदस्यताबाट हटाउने सूचीमा राखी सिफारिस गरेको विरुद्धमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको आन्दोलनरत पत्रकारहरु बताउँछन् । 
सप्तरीको पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारहरुको सदस्यता नविकरण गर्नुपर्ने लगायतका तीन सुत्रीय माग उनीहरुको छ । 
माग सम्बोधन नभएसम्म तालाबन्दी जारी राख्ने आन्दोलनरत पत्रकारको अडान छ । आफुहरुमाथि महासंघले विभेदपुर्ण निर्णय गरि सदस्यताबाट हटाएकोले बाध्य भएर आन्दोलनमा जानु परेको उनीहरुको भनाई छ । 
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष वितिसक्दा पनि एकपटक पनि साधारणसभा नगरेको, सदस्यता सुद्विकरणको नाममा पक्षपात गरि सदस्यता नविकरण नगरेको, योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको उनीहरुको आरोप छ । 
पक्षपातपुर्ण निर्णय सच्याएर महासंघमा आवद्ध सम्पुर्ण  पत्रकारहरुको सदस्यता नविकरण गर्नुपर्ने, योग्यता पुगेका पत्रकारहरुलाई नयाँ सदस्यता दिनुपर्ने र महासंघको साधारणसभाको मिति घोषणा गरि  कायम सम्पुर्ण सदस्यहरुलाई सहभागी गराउन माग गर्दै तीन दिने अल्टिमेटमसहित महासंघका अध्यक्ष श्रवण कुमार देवलाई फागुन २० गते उनीहरुले ज्ञापनपत्र समेत  बुझाएका थिए । 
तालाबन्दीका कारण महासंघ सप्तरीको कार्यालयबाट प्रदान हुने सम्पुर्ण सेवा ठप्प भएको छ भने समस्या समाधानप्रति दुबैपक्षले चासो दिएको छैन ।