सप्तरी सदरमुकाम राजविराज ४ मा अवस्थित एक विद्यालयमा सौचालय नहुँदा विद्यार्थीहरुले सास्ती खेपिरहेका छन् । राजविराज नगरपालिकाको मुटुमा रहेको आधारभुत विद्यालय केन्द्र नम्बर ६ मा सौचालय अभावको कारण विद्यार्थीहरु सास्ती खेप्न बाध्य भएका हुन् ।
विद्यालयको चर्पीसहित भौतिक पुर्वाधारको समस्या बारे बताउदै प्रअ शंकर यादव । फोटो : न्यूज टुडे
विद्यालयमा सौचालय नहुँदा सौच गर्न समस्या भएको कक्षा ६ की छात्रा अनिसा सरबरियाले बताइन् । दिसा पिसाव आयोभने कक्षा छोडेर घर जानुपर्ने उनले बाध्यता पोखिन। कक्षा ४ की मनिसा कुमारी साहले १ बर्षदेखि सौचालयको समस्याले विद्यालय आउन मन नलाग्ने गरेको बताइन् ।
“छात्रहरुलाई त केही सजिलै हुन्छ तर हामी छात्रालाई सौच गर्न कठिनाइ छ, उनले भनिन्, अप्ठ्यारो अवस्थामा नजिकैको मदरसामा गएर र नजिकै रहेएको कसैको निजि सौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ । ” उनले सौचालयको छिटो व्यवस्था गरिदिन सरोकारवालाहरुसंग आग्रह गरिन ।
यसैगरी कक्षा ३ का छात्र सुमन कुमार गोस्वामीले पिसाव फेर्न पर्खाल छेकेर व्यवस्था गरिएपनि दिसा गर्न परे अर्काको घर चाहार्नु पर्ने बताए । उनले दिसा जोडले आएको बेला धरधनीले सौचालय छिर्न नदिँदा ठूलो समस्या हुने गरेको दुखेसो सुनाए ।
यस्तो समस्या विद्यार्थीलाई मात्र नभई शिक्षहरुले पनि खेप्दै आएको विद्यालयका प्रधानाध्यापक शंकर यादवले बताए । अस्थायी रुपमा शिक्षक तथा विद्यार्थीका लागि पिसाव गर्नका लागि व्यवस्था मिलाएको बताउँदै उनले दिसा गर्नुपरे नजिकैको मदरसामा रहेको सौचालय प्रयोग गर्दै आएको जानकारी दिए । उनले विद्यालयको सौचालयलाई स्तरोन्नति गर्न भनि थालिएको काम अधुरो छोडिदा विद्यालय असारदेखि सौचालय विहिन भएको बताए ।
“विद्यालयमा सौचालय संचालनमा थिए, प्रधानाध्यापक यादवले भने, माननीय महेश प्रसाद यादव ज्युको क्षेत्र विकास कोष अन्तर्गत सौचालय स्तररोन्नति गर्ने भनि काम सुरु गरे, तर काम अधुरो छोडिदिदा अहिले सौचालयको चरम अभाव छ ।”
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ( ख) प्रदेशसभा सदस्य एवम् पुर्व शिक्षा मन्त्री यादवले चर्पी निर्माणलाई पुर्णता दिन सहयोग गर्छु भनेपनि बजेट अभावले प्रतिबद्धता अनुसार काम गर्न चाहेर पनि नसकिएको बताए । विद्यालयमा चर्पीको समस्या बारे आफुसमेत चिन्तित रहेको बताउँदै उनले विद्यालयको चर्पी समस्यालाई पहिलो प्राथमिकतामा राखी बजेट ब्यवस्था हुनसाथ काम गर्ने बताए ।