न्यूज टुडे
राजविराज, २८ फागुन ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीको भवन निर्माण वापतको लाखौं भुक्तानी नदिएको एक निर्माण व्यवसायीले गुनासो गरेका छन् । राधाकृष्ण निर्माण सेवा राजविराजका निर्देशक बिनोद साफीले राजविराजमा सोमबार पत्रकार सम्मेलन गर्दै कार्यालय प्रमुख डा. शंकर साहले भवन निर्माणको लाखौं भुक्तानी दिन नमानेको भन्दै गुनासो गरेका हुन् ।
काम गरेको रकम भुक्तानी नपाउँदा समस्यामा परेको बताउँदै उनले भुक्तानी नपाउँदा आफूहरुलाई दिनहुँ पसलेहरुको गाली सुन्न परिरहेको दुखेसो पोखे ।
‘समय तोकेर उधारो मालसमान लिएको थिएँ, बुझाउने भाका नाघिसकेको छ, ५ महिनादेखि दिनहुँ तागेता गर्छन्, नानाभातीको गाली खानु परिरहेको छ,’ साफीले भने, ‘यस्तोमा त व्यवसाय गर्ने अवस्था नै रहँदैन्, भुक्तानी पाइन्छ अनि न उनीहरुलाई पैसा दिन सकिन्छ ।’
साफीले भुक्तानी नपाएकोले भवन निर्माणको बाँकी काम सुरु गर्न नसकिरहेको बताए । ‘भुक्तानी नदिएकोले अगाडिको काम गर्न सकिरहेको छैन्, यस्तोमा त समयमा काम सम्पन्न हुन सक्दैन्,’ उनले भने, ‘काम सम्पन्न भएनन् भने कम्पनी पनि कालोसुचीमा जानसक्छ, भुक्तानी पाए अन्य काम समयमा हुन्थ्यो, आफू साह्रै अन्यायमा परेको हुँदा पत्रकार मित्रहरुसंग भुक्तानीको लागि पहल गरिदिन हुन आग्रह गर्दछु।’
आफ्नो काममा कुनै प्रकारको त्रुटी नरहेको र प्राविधिकले भने जस्तै काम गरेको दावी गर्दै उनले कार्यालय प्रमुख साहले आफुलाई अनावश्यक दुख दिएको आरोप लगाए ।
“पीपीमाओले २०७९ माघ २२ गते भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीको कार्यालय भवनको निर्माणको लागि बोलपत्र आह्वान गरेको थियो, उनले भने, ईबिडिङ्ग मार्फत ४ करोड १६ लाख ६० हजार ५ सय १० रुपैयाँ दुई पैसामा(भ्याट सहित) राधा कृष्ण निर्माण सेवाले ठेक्का कबुल गर्यो ।”
कार्यालय र निर्मांण कम्पनी बिच २०८० बैशाख २६ गते सम्झौता भएको बताउदै साँफीले सम्झौता पत्रमा कार्यालयको तर्फबाट तत्कालीन कार्यलय प्रमुख डा.प्रभात झा र निर्माण कम्पनीको तर्फबाट प्रबन्धक कौशल्या कुमारी रजकले हस्ताक्षर गरेको जानकारी दिए ।
जसमा पहिलो चरणमा आर्थिक बर्ष २०७९/०८० मा विनियोजित ५० लाख बराबरको काम २०८० असार ३० गतेसम्म सम्पन्न गर्नुपर्ने थियो,साथै निर्माण कामलाई निरन्तरता दिन बजेट थप भएर आएमा योजनाको अगाडिको काम २०८१ असार १५ गतेसम्म सम्पन्न गर्नु पर्ने सम्झौतामा उललेख छ, उनले भने ।
बैशाख २९ गते कार्यदेश पाएको निर्माण कम्पनीले काम सुरु गरेको जानकारी गराउँदै उनले तोकेको समय भित्रै काम गरेर २०८० असार २३ गते पहिलो बर्षको भुक्तानी समेत पाएको बताए ।
त्यसपछि सम्झौता अनुसार कम्पनीले योजनाको अगाडिको काम सुरु गरेर असोज २९ गते दोस्रो तल्लाको काम सम्पन्न गरेपनि अहिले सम्म भुक्तानी नपाएको उनले बताए ।असोज ३० गते काम गरेको खर्च ६६ लाख २६ हजार ५ सय ४२ रुपैयाँको भुक्तानी माग गर्दा समेत कार्यालय प्रमुख साहले भुक्तानी दिन आलटाल गरेको उनले पत्रकार सम्मेलनमा बताए ।भुक्तानीको लागि कार्यालयमा पटकपटक निवेदन दर्ता गराउँदा पनि हालसम्म भुक्तानी नगरेको उनले जानकारी दिए ।
खर्च भएको रकम भुक्तानी नपाउँदा बाँकी काम समयमा गर्न कठिनाई भएकोले त्यसबाट हुने क्षतिको जिम्मेवारी आफुले नलिने उनले तर्क गरे । फागुन ११ गते कार्यलयमा पुनः निवेदन दिदै के कारणले भुक्तानी नदिएको भन्दै जानकारी माग गर्दा समेत कार्यालय प्रमुखले कुनै जवाफ नदिँदा थप पीडा थपिएको उनले बताए ।
कार्यालय प्रमुख शंकर साहले उक्त काममा अख्तियारको छानबिन भइरहेको, टेन्डर गलत प्रक्रियाबाट भएको लगायतको बिभिन्न आधारहिन बाहना गरेर भुक्तानी नदिएको कम्पनीका निर्देशक साँफीले बताए ।
कार्यालय प्रमुख डा. साहले आफुले चाहेर पनि निर्माण व्यवसायीको भुक्तानी गर्न नसकेको स्वीकार गरे ।
आफू कानुनले बाँधिएको हुँदा कानुनी प्रक्रियामा त्रुटि देखिएको तथा उक्त विषयमा अख्तियारमा समेत उजुरी परेकाले छानबिन भइरहेको हुँदा भुक्तानी दिन समस्या भएको उनले बताए ।
निर्माण व्यवसायी मर्कामा परेकोले समस्या समाधानका लागि तालुक कार्यालयहरुमा लेखी पठाएको उनले जानकारी दिए ।
अर्थ मन्त्रालयबाट बहुबर्षिय योजना स्वीकृत नभएको, अख्तियारले छानबिन गरिरहेको र महालेखाले बेरुजु ठहर गरेको हुँदा खर्च भएको बजेट निकासामा समस्या आएको उनले बताए ।