सप्तरीको कञ्चनरुप नगरपालिकाका निवर्तमान नगर प्रमुख बसन्त मिश्रले देशमा आर्थिक र सामाजिक रुपान्तरण हुनु जरुरी रहेको बताएका छन् । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कञ्चनरुप नगरपालिका–८ स्थित डेफोडिल अंग्रेजी माध्यमिक विद्यालयमा आइतबार आयोजित विविध साहित्यिक तथा सांगीतिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी महिला अधिकारकर्मीहरु । फोटो : न्यूज टुडे
राजनीतिक परिवर्तन पछि आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको भन्दै उनले बाहिरी कुरा गरेर भन्दा सामाजिक यथार्थमा समस्याको पहिचान गरी समाधान खोजिनुपर्ने तर्क गरे । कुनै पनि मानेमा महिला कमजोर नरहेकोले महिला आन्दोलनले लक्ष्य प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।
“दिवसलाई चाडपर्वका रुपमा मनाउने होइन्, व्यवहारमा समानता अपनाएर मनाउने हो, उनले भने, समस्याहरु उजागर गरेर दवाव दिने उपयुक्त माध्यम साहित्य र कला क्षेत्रका लागि सहयोग गर्न तत्पर रहने प्रतिबद्धता गर्दछु ।”
नृत्य प्रस्तुत गर्दै छात्रछात्राहरु । फोटो: न्यूज टुडे
बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष तिर्थराज पोखरेलले शिक्षा, सम्पति र शक्तिको स्रोत महिला रहेको बताए । पोखरेलले आफ्नो शक्ति पहिचान गर्न र सशक्तिकरणको अभियान जारी राख्न उनले आग्रह गरे ।
महिलाहरुको सहभािगता नभएसम्म सामाजिक तथा आर्थिक रुपान्तरण हुन नसक्ने उनले दावी गरे ।
बुढ्यौली साहित्य समाज सप्तरीका सचिव मनोहर पोखरेलले महिला दिवसको राजनीतिक धरातल नै असमानता विरुद्ध निरन्तरको चेतना जगाउने भएकोले थप उपलब्धीका लागि संघर्षरत रहदै अहिले महिलाको संवैधानिक हकको कार्यान्वयनलाई सुनिश्चित गर्न सरकार र दलहरुलाई दबाब दिनुपर्नेमा जोड दिए । समाजलाई सभ्य र न्यायमूलक बनाउन समानताको सोच सबैमा हुनुपर्ने भन्नुहुँदै उनले मान्छेको विचार, सोच चिन्तनहरु परिवर्तन गर्न लगातार संघर्ष र आन्दोलन सञ्चालन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा समाजसेवी फणिन्द्र श्रेष्ठले महिलालाई हेर्ने सामाजिक दृष्ट्रिकोण बदलिन नसकेकोमा चिन्ता ब्यक्त गरे । वर्तमान अबस्थामा जेष्ठ नागरिकको अबस्था नाजुक बन्दै गएको बताउदै श्रेष्ठले अग्रजहरूलाई ज्ञानको भण्डारको रूपमा लिएर ज्ञान, विज्ञान र संस्कार सिक्न बुढ्यौली साहित्य समाजको गठन महत्वपूर्ण हुने उल्लेख गरे ।
बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष तिर्थराज पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक विष्णु कुमारी कोइराला र इन्दिरा दाहाललाई प्रमुख अतिथि मिश्र र अध्यक्ष पोखरेलले दोसल्ला ओढाएर सम्मान गरे । विद्यालयका संस्थापक नगेन्द्र श्रेष्ठले बुढ्यौली साहित्य सार्वभौम यथार्थ रहेको बताए । यो आदिम सभ्यताको सामूहिक अनुभूतिको समग्र पक्ष हो, जसमा मानव र प्रकृतिका घटना रहेका हुन्छन्, श्रेष्ठले भने ।
महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी“ नाराका साथ आयोजित कार्यक्रममा सप्तकोशी नगरपालिकाकी महिला विकास अधिकृत प्रज्ञा नेपाल, साहित्यकारहरु मेघराज पौड्याल, गिरीराज पौडेल, नारायण खड्का, महिला अधिकारकर्मीहरु इश्वरी पोखरेल, सरस्वती निरौला, विद्यार्थी शिशिका खड्कालगायतकाले मन्तव्य व्यक्त गरे ।
शिक्षक रूपेश सुवेदीको सञ्चालित कार्यक्रममा स्वागत समाजकी कोषाध्यक्ष दुर्गा दाहालले गरिन । कार्यक्रममा सहभागी र बिद्यार्थीहरुले गीत, कविता वाचन, नृत्य र वक्तृत्व कला प्रदर्शन गरेका थिए । शिवरात्री पर्वका कारण महिला दिवस आज मनाइएको आयोजकले जनाएको छ ।
महिला मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनको नेतृत्वमा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठेको दिनको स्मरणमा सन् १९११ मार्च ८ देखि महिला दिवस मनाउने प्रचलन सुरु भएको हो ।
डेफोडिल अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुढ्यौली साहित्य समाज सप्तरीले पहिलो पटक कार्यक्रमको आयोजना गरेको हो । आयोजकका अनुसार बुढ्यौली साहित्यको प्रयोग मानव र प्रकृतिको सृष्टिसँगै जोडिएर आएको हुन्छ । मानव जीवन र जगतलाई हेर्दा यसभित्र सामान्यतया मानिसको सृष्टि, त्यसको गतिशीलता, जन्म, मृत्यु, पुनर्जन्म, प्राकृतिकपन, दैवीशक्ति चमत्कार, विश्वास, आस्था, धारणा पाइन्छ ।