• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पुर्व प्रहरी संगठनले बुझाए प्रहरी महानिरीक्षकलाई ज्ञापनपत्र, आठ अर्व अनियमितताको आशंका 

पुर्व प्रहरी संगठनले बुझाए प्रहरी महानिरीक्षकलाई ज्ञापनपत्र, आठ अर्व अनियमितताको आशंका 
न्यूज टुडे
राजविराज, २४ फागुन । 
नेपाल पुर्व प्रहरी संगठन सप्तरीले विभिन्न ६ सुत्रीय माग राखी प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पुर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष शिव नारायण सिंहको नेतृत्वमा बिहिवार जिल्ला प्रहरी कार्यालय सप्तरी मार्फत महानिरीक्षक कुँवरलाई ज्ञापनपत्र बुझाएका हुन् । 
ज्ञापनपत्र बुझाउन जाँदै पुर्व प्रहरी संगठनमा आवद्ध पुर्व प्रहरीहरु । फोटो : न्यूज टुडे
जिल्ला स्थित विभिन्न पालिकाबाट दर्जनौंको संख्यामा आएका पुर्व प्रहरीहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेमार्फत कोषको संरक्षक समेत रहेका महानिरीक्षक कुँवरलाई ज्ञापनपत्र बुझाएका छन् । 
ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख डिएसपी नेउपानेले प्राप्त ज्ञापनपत्र जस्तको त्यस्तै सम्बन्धित ठाउँमा पठाउने प्रतिबद्धता व्यक्त गरे । 
पुर्व प्रहरीलाई सम्बोधन गर्दै डिएसपी नेउपाने । फोटो:न्यूज टुडे
पुर्व प्रहरी संगठनले बुझाएको ज्ञापनपत्रमा नेपाल प्रहरी कल्याणकोष संरक्षक मोतिलाल बोहराको समयमा विसं २०४९ फागुनदेखि संरक्षक रवीन्द्र विक्रम शाहको समयमा बिसं २०६९ भाद्रसम्मको कल्याण कोषको आयव्ययको नेपाल पुर्व प्रहरी संगठनका पदाधिकारी तथा स्वतन्त्र चार्टर एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई एक समिति गठन गरि सुक्ष्म ढंगले छानवीन गर्नुपर्ने, नेपाल प्रहरी कल्याण कोषको रकमबाट कल्याणकारी कार्यमा रकम विनियोजित गर्दा मुल धनबाट भएको बढताको ( बैक व्याजको आधारमा) ४० प्रतिशत वहालवाला प्रहरीहरुको लागि खर्च गर्ने र ४० प्रतिशत पुर्व प्रहरीका लागि खर्च गर्ने र २० प्रतिशत आय मुलक कार्यक्रममा खर्च गर्ने नीतिगत निर्णय गरि सो निर्णय कार्यान्वयन गर्नुपर्ने, प्रहरी कल्याण कोष संचालक समितिमा ४० प्रतिशत प्रतिनिधित्व पुर्व प्रहरी संगठनबाट वा पुर्व प्रहरीहरुबाट हुने व्यवस्था गर्नुपर्ने माग रहेको छ । 
यसैगरी प्रहरी संगठनको काम शान्ति सुरक्षा दिने भएकोले कल्याणकारी योजना अन्तर्गतका व्यापारिक कामहरू पुर्व प्रहरी संगठनलाई हस्तान्तरण गर्नुपर्ने र  प्रहरी संगठनले व्यापार गर्नुपर्ने , नेपाली सेनाको झै पुर्व प्रहरीहरुको कल्याणमा समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा कार्यालय सहित २ जना पुर्व प्रहरी पदाधिकारीहरुलाई र हरेक प्रदेशमा १/१ जना पदाधिकारीलाई पुर्व दर्जा अनुसारको सेवा सुविधा दिई साथै निजलाई सहयोग गर्न बहालका प्रहरीहरु समेत दिएर पुर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्नुपर्ने, प्रहरी अमर सहिद परिवारका सन्ततिका लागि १० प्रतिशत र प्रहरी परिचर देखि वरिष्ठ प्रहरी नायव निरीक्षक सम्म पुर्व प्रहरीका सन्ततिहरुलाई ५ प्रतिशत भर्नामा कोटा प्रदान गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।
न्यायोचित मागहरू ३५ दिनभित्र पूरा नगरिए  संचालक समितिको कामकारबाही विरुद्ध देश व्यापी विरोधका कार्यक्रम अगाडि बढाउने पुर्व प्रहरी संगठनले बुझाएको ज्ञापनपत्रमा चेतावनी समेत दिइएको छ । पुर्व प्रहरी संगठनले कल्याणकोषमा २२ अर्व हाराहारी हुनुपर्नेमा ४ अर्वमात्र रकम भएकोले ८ अर्व रुपैयाँ अनियमितता भएको भन्दै छानबिनका लागि जोडदार माग गरेका छन्।