राजकुमार साह
कञ्चनपुर , २४ फागुन ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले सचिवालय व्यवस्थापनको नाउँमा दोहोरो सुविधा लिएको खुलासा भएको छ । महालेखा परिक्षकको प्रारम्भिक प्रतिबेदन २०७९/०८० अनुसार मेयर गुप्ताले नगरपालिकाबाट २ लाख ७३ हजार २ सय ४० रुपैयाँ दोहोरो सुबिधा लिएको खुलासा भएको हो ।
मेयर गुप्ताले सचिवालयमा नियुक्त गरेको कर्मचारी बाहेकका कानुन विपरीत उक्त रकम भुक्तानी लिएको महालेखाको प्रतिबेदनमा उल्लेख गरेको छ ।
पालिकाले नगरसभाबाट स्वीकृत गरेको कार्य सञ्चालन निर्देशिका,२०७८ को नियम १८ बमोजिम प्रमुखको निजि सचिवालयमा सहयोगी व्यवस्थापन गर्ने बढिमा २० हजार मासिक खर्च गर्न सकिने र उक्त रकम एकमुष्ट उपलब्ध गराउने वा सचिवालयको लागि कर्मचारी राख्ने भनी व्यवस्था गरेको छ ।
पालिकाले नगरप्रमुखको सचिवालय सहयोगी भनी बैजु कुमार साहलाई २०७९ जेठ १० गतेबाटै मासिक २० हजारका दरले भुक्तानी गर्दै आएकोमा फेरि सचिवालय व्यवस्थापन खर्च भनी एकमुष्ट रकम २ लाख ७३ हजार २ सय ४० रुपैयाँ नगरप्रमुख गुप्ताले भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मेयर गुप्ताले एकै परियोजनामा दोहोरो पर्ने गरि खर्च लिनु कानुन विपरीत कार्य रहेको महालेखाको ठहर छ । दोहोरो सुविधा बापतको बढी रकम मेयर गुप्ताबाट असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा औल्याएको छ ।
नगरप्रमुखको सचिवालय सहयोगी बैजु कुमार साह हाल केही महिनादेखि कार्यालय सहयोगी (कास) को रुपमा समेत काम गरिरहेको एक कर्मचारीले बताएका छन् ।
यस सन्दर्भमा नगरप्रमुख गुप्तासंग न्युजटुडे दैनिकले हिजो ( बुधबार ) सार्वजनिक सुनवाइ कार्यक्रममा प्रश्न गर्दा गुप्ताले आफुले कुनै किसिमको दोहोरो सुबिधा नलिएको बताएका थिए । तर, महालेखा परिक्षकको ५१ नम्बर बुँदामा गुप्ताले दोहोरो सुविधा लिएकोले उक्त बराबरको रकम फिर्ता गर्न भनिएको छ ।