उत्तम आचार्य
रुपनगर, २२ फागुन ।
नन्दराज संग्रौला क्याम्पसमा मंगलबार जीवन उपयोगी सीपको महत्त्व बारे विशेषज्ञसंग अन्तरक्रिया गरिएको छ । काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेनेजमेण्ट (कुसोम) का प्राध्यापक असिम आचार्य र क्याम्पसमा अध्यानरत छात्रछात्रा विच अन्तरक्रिया भएको हो ।
पढेर के गर्ने ? स्नातक गरेर पनि जीवन उपयोगी कुनै शीप जानिएन भने के हुन्छ ? शीप सिक्न किन जरूरी छ ? जस्ता विषयमा व्यवस्थापन विषयका विशेषज्ञ आचार्यसँग विद्यार्थीहरूले प्रश्नको उत्तर दिँदै झण्डै दुई घण्टा अन्तरक्रिया गरे ।
प्राध्यापक आचार्यले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई काठमाडौँबाट दैनिक एउटा ‘भर्चुअल’ कक्षा लिइ राखेका थिए ।
पारिवारिक काममा काठमाडौँबाट अपर्झट तराइ आउनु भएका उनले केही घण्टा समय निकालेर इनरूवादेखि बिहानै रूपनगर आएर विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन् ।
रमाइलो गर्दै, हसाउँदै, हौसला दिँदै, अनुभव र उदाहरण सहित ‘गफ’ गरेका आचार्य प्रति, ऊनी गएपछि, केही विद्यार्थीको प्रतिक्रिया थियो “यस्ता सरबाट सधैँ पढ्न पाए पो,धन्यवाद प्रोफेसर आचार्य समय र ज्ञानका लागि ।”
तपाईँले आज छोड्नु भएको छापले क्याम्पस प्रमुखलाई चाहिँ दवावमा पारिसक्यो है आचार्य सर भन्दै सहभागी विद्यार्थीहरुले थप कक्षा लिइदिन अनुरोध समेत गरेका थिए ।